सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि कोबाट हुँदैछ आक्रमण ?
नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीमाथि शृंखलाबद्ध रूपमा भइरहेको आक्रमणमा अहिलेसम्म सीमा वारपार अपराध गर्दै आएको आपराधिक समूह र तस्करहरूको संलग्नता देखिएको छ।
कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि नेपाल–भारत सीमा क्षेत्रमा आवागमन कडाइ गर्न उपस्थिति बढाउँदै लगेको सशस्त्र प्रहरी बलमाथि त्यही सँगसँगै आक्रमण पनि शुरू भयो। पूर्वदेखि पश्चिमसम्म धेरै ठाउँमा सशस्त्र प्रहरी आक्रमणको तारो बने। गस्तीमा रहेका बेला ढुंगामुढा गर्नेदेखि बस्नलाई बनाएका टहरा भत्काइदिनेसम्मका क्रियाकलाप देखा परे।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार अहिलेसम्म १७ भन्दा धेरै ठाउँमा आक्रमण भइसकेको छ। आखिर कसले गरिरहेको छ सीमा सुरक्षार्थ तैनाथ फौजमाथि आक्रमण ?
गएको चैत महीनायता धेरैजसो झापा, मोरङ, सुनसरी, सर्लाही, रौतहट, बारा र नवलपरासी जिल्लामा भएका यस्ता घटनालाई मिहिनसँग केलाएका सशस्त्र प्रहरी अधिकृतहरू धेरैजसो घटनामा सीमा क्षेत्रमा बसेर सीमा वारि र पारि समेत अपराध गर्दै आएका आपराधिक समूहहरूको संलग्नता देखिएको बताउँछन्।
“जो मान्छे गैरकानूनी रूपमा उताका सामान यता र यताका सामान उता लैजाने काममा संलग्न छन्, सीमा बन्द गरेपछि उनीहरू सबभन्दा धेरै आक्रोशित भएका छन्। फ्रन्टमा सर्वसाधारण देखिए पनि पर्दापछाडि आपराधिक प्रवृत्तिका मानिसहरू नै संलग्न छन्।” –राजु अर्याल, प्रवक्ता, सशस्त्र प्रहरी बल
यसमा सीमा क्षेत्रमा बसेर तस्करी गर्नेहरूको संख्या ठूलो छ। सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी राजु अर्याल भन्छन्, “जो मान्छे गैरकानूनी रूपमा उताका सामान यता र यताका सामान उता लैजाने काममा संलग्न छन्, सीमा बन्द गरेपछि उनीहरू सबभन्दा धेरै आक्रोशित भएका छन्।” उनीहरूले नै आफ्नो स्वार्थका लागि सर्वसाधारणलाई पनि उचालेको अर्याल बताउँछन्। भन्छन्, “फ्रन्टमा सर्वसाधारण देखिए पनि पर्दापछाडि आपराधिक प्रवृत्तिका मानिसहरू नै संलग्न छन्।”
कोरोना संक्रमण बढेपछि सरकारले सीमा क्षेत्रबाट हुने आवतजावत रोक्न सशस्त्र प्रहरीको संख्या बढाएको थियो। पहाडी जिल्लामा तैनाथ सशस्त्र प्रहरीलाई त्यहाँबाट झिकेर तराईका जिल्लामा खटाइएको थियो। अहिले दुई-तीन किलोमिटरको फरकमा सीमा क्षेत्रमा सशस्त्र प्रहरीका अस्थायी पोष्ट खडा भएका छन्।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति हुन थालेपछि नै आक्रमणका घटना पनि शुरू भएका हुन्। अस्थायी पोस्ट खडा गरेर बसेकाले धेरैजसो ठाउँमा सशस्त्र प्रहरीको वासस्थान पनि स्थायी छैन। बचेका कुनै सार्वजनिक भवनमा वा टहरा बनाएर सशस्त्र प्रहरी बसेका छन्। कतिपय ठाउँमा त पालमै उनीहरूको बसाइ छ भने केही ठाउँमा घर भाडामा पनि लिएका छन्। जस्तो कि, रूपन्देहीको सम्मरीमाई गाउँपालिका- , करौताका विजय यादवको घर भाडामा लिएर सशस्त्र प्रहरी बसेको छ।
अहिले घरधनी यादवलाई वडाध्यक्ष शिवकुमार यादव, त्यहाँका अमरजित यादव लगायतले घरभाडा सम्झौता नवीकरण नगर्न दबाब दिएका छन्। करौताका बासिन्दा अमरजितको पेशा नै सीमा क्षेत्रमा सामान ओसारपसार गर्ने भएको सशस्त्र प्रहरी बताउँछ।
११ चैतदेखि शुरू भएको करीब चार महीना लामो बन्दाबन्दी सर्लाहीको सीमावर्ती क्षेत्रमा बिताएका लेखक एवं पत्रकार चन्द्रकिशोर झा कहींकतै सीमाबाट सामान वारपार गर्ने संगठित गिरोहले सर्वसाधारणलाई प्रयोग गरेर उत्तेजना फैलाउने काम गरेको र त्यसकै परिणाम सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण भएको बताउँछन्। तर, तस्करी रोकिएको मान्न भने उनी तयार छैनन्।
“राम्रा र इमानदार अफिसर परेको स्थानमा त तस्करी रोकिएको होला, तर धेरै स्थानमा अहिले दिनमै खुल्लमखुला तस्करी भइरहेको छ” उनी भन्छन्, “एउटा समूहलाई छोड्ने अनि लाइन नमिलेको समूहलाई रोक्दा पनि अर्को समूहले आक्रमण गरेको पाइन्छ, त्यसबाट पनि झडपका घटना भएका हुन्।”
स्थानीय समस्या
भारतले नेपाली भूभाग अतिक्रमण गरेको दार्चुलाको कालापानी क्षेत्र र नवलपरासीको सुस्ता बाहेक अन्य स्थानका सीमा क्षेत्रमा देखिने समस्या प्रायः स्थानीय समस्याका रूपमा रहेका छन्। ती समस्या स्थानीय कारणबाटै उत्पत्ति हुन्छन् र स्थानीयस्तरमै समाधान पनि गरिन्छन्। पत्रकार झा बन्दाबन्दी भएयता देखिएका समस्यालाई पनि त्यसैसँग जोडेर हेर्नुपर्ने बताउँछन्।
“सामान वारपार गराउने झोले–पोकेहरूको पेशा नै बन्द भएपछि उनीहरू पनि आक्रोशित बने। यो सबै मिल्न गयो। तर, आक्रमणमा मुख्य हात आपराधिक समूहकै छ।”
“नेपाल र भारतको सीमा चीन र भारत, पाकिस्तान र भारतको जस्तो होइन, एक ठाउँ तनाव हुँदा काठमाडौं र दिल्लीबीच तनाव हुन्न जसरी दिल्ली र इस्लामावाद अथवा बेइजिङ र दिल्लीका बीचमा हुन्छ” भन्छन्, “यो ठाउँविशेषमा देखिने तनाव हो।”
सीमा क्षेत्रको जीवनको नालीबेली बुझेका झा त्यहाँका अधिकांश नेपाली नुन, तेल किन्न समेत भारतीय बजारमा निर्भर रहेको, भारतीयहरूको पनि नेपालमा खेत, बगैंचा रहेको बताउँछन्। भारतमा जग्गाजमीन र व्यवसाय हुनेहरू दिनभर पारि पुगेर राति वारि आउने, नेपालमा जग्गाजमीन हुनेहरू दिनभर यता काम गरेर साँझमा उता फर्कने गरेको उनको भनाइ छ।
बन्दाबन्दी शुरू भएपछि भने खेतीपातीका लागि आउजाउ गर्नेहरू पनि रोकिए। स्थानीयस्तरको समस्या बुझेर वारपार गर्न दिइएका ठाउँमा समस्या नदेखिएको, तर रोकेका ठाउँमा समस्या देखिएको उनी बताउँछन्।
नवलपरासीमा कार्यरत एक सशस्त्र प्रहरी अधिकृत पनि निर्वाध सीमा वारपार गरिरहेका स्थानीयहरू त्यसो गर्न नपाएपछि रिसाएको स्वीकार गर्छन्। “नून, तेल, तरकारी किन्न निर्वाध वारपार गरिरहेका बेला आउन–जान बन्द भएपछि आक्रोशित भएका हुन्” ती अधिकृत भन्छन्, “सामान वारपार गराउने झोले–पोकेहरूको पेशा नै बन्द भएपछि उनीहरू पनि आक्रोशित बने। यो सबै मिल्न गयो। तर, आक्रमणमा मुख्य हात आपराधिक समूहकै छ।”
सशस्त्रका दुःख
सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति ह्वात्तै बढाए पनि उनीहरूलाई बस्न चाहिने भौतिक पूर्वाधार नै छैन। सीमा क्षेत्रमा राखिएका प्रायःजसो पोष्टहरूको स्थायी संरचना छैन। खाली रहेका विद्यालय भवन, भाडाका घर र टहरासँगै उनीहरू पाल टाँगेर पनि बस्नुपरेको छ।
आफैं सुरक्षित रहने प्रबन्ध पनि राम्रो नभएकाले ती समूहले झुक्याएर सजिलै आक्रमण गर्छन्। झापा र सर्लाहीमा भएका आक्रमण त्यसका उदाहरण हुन्। गएको ४ साउनमा झापाको गौरीगञ्ज गाउँपालिका-५, डाँगीटोलमा रहेको सशस्त्रको पोष्टमा भारतीयहरूको एक समूहले आक्रमण गर्यो। आक्रमणमा दुई जना सशस्त्र प्रहरी जवान घाइते भए। आक्रमणकारीले पालमा बसेका सशस्त्र प्रहरीलाई चारैतिरबाट घेरा हालेर घरेलु हतियारले आक्रमण गरेका थिए।
“रातभर राम्रोसँग आराम गर्न नपाउने, कतिखेर कसले आएर आक्रमण गर्छ भन्ने त्रासमा रहने सुरक्षाकर्मीले कुन मनस्थितिमा ड्यूटी गर्छ ?”
नाम उल्लेख गर्न नचाहने सीमा क्षेत्रमा कार्यरत एक सशस्त्र प्रहरी उपरीक्षक बसोबास र भौतिक पूर्वाधार कमजोर हुँदा असुरक्षासँगै मनोबलसमेत कमजोर बन्ने बताउँछन्। “रातभर राम्रोसँग आराम गर्न नपाउने, कतिखेर कसले आएर आक्रमण गर्छ भन्ने त्रासमा रहने सुरक्षाकर्मीले कुन मनस्थितिमा ड्यूटी गर्छ ?” उनी भन्छन्, “धन्न हाम्रो फौजले गरिरहेको छ।”
सीमा क्षेत्रमा हराएका सीमास्तम्भहरूको डिजिटल नक्शांकन गरेपछि सशस्त्र प्रहरी भारतका विभिन्न एजेन्सीहरूको समेत निशानामा परेको थियो। कतिपयले सीमा क्षेत्रमा थप बढेको सशस्त्र प्रहरीको उपस्थितिलाई ती एजेन्सीले नरुचाएको र आक्रमणमा अप्रत्यक्ष रूपमा त्यो असन्तुष्टि समेत जोडिएको हुनसक्ने बताउँदै आएका छन्। सशस्त्र प्रहरी अधिकारीहरू भने यसबारे टिप्पणी गर्न चाहँदैनन्।