कोरोना अपडेट: मृत्यु हुनेमा ६१ देखि ७० वर्ष उमेर समूहका धेरै
नेपालमा कोरोनाबाट मृत्यु हुनेहरूमा ६१ देखि ७० वर्ष उमेर समूहका संक्रमितहरू धेरै रहेको देखिएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुनेमा अधिकांश ६१ देखि ७० वर्ष उमेर समूहका व्यक्ति भएको देखिएको हो।
मुलुकभर २४ भदौसम्म कोरोना संक्रमणका कारण ३१२ जनाको मृत्यु भएको छ। तीमध्ये ७० जना मृतक ६१ देखि ७० वर्ष उमेर समूहका छन्।
यो मृत्यूदर अन्य उमेर समूहका कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या भन्दा धेरै हो।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोनाका कारण १० वर्ष मुनिका ६ जना, ११ देखि २० वर्षका ७ जना, २१ देखि ३० वर्षका १६ जना, ३१ देखि ४० वर्षका ३६ जनाको मृत्यु भएको छ। यस्तै, ४१ देखि ५० वर्षका ५१ जना, ५१ देखि ६० वर्षका ५७ जना, ७१ देखि ८० वर्षका ४३ जना र ८० वर्षभन्दा माथिका २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
तर कोरोना संक्रमित हुनेमा २१ देखि ३० वर्ष उमेर समुहका व्यक्ति धेरै छन्। बुधबारसम्म २१ देखि ३० वर्ष उमेर समूहका १६ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन्।
हालसम्म कोरोना संक्रमित हुने कुल संख्या ४९२१९ पुगेको छ।