भोलिदेखि काठमाडौंमा खुल्नेछन् यी व्यवसाय: सवारीमा जोर बिजोर, पसलमा बारको नियम लागू
काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ। निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएको छ भने दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीका पसलहरू पनि खोल्न पाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेश अनुसार उपत्यकामा निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ।
१६ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारी साधनमा सीमित यात्रु राखेर चलाउनुपर्ने छ भने ट्याक्सीमा चालकसहित ३ जनासम्म राख्न पाइनेछ।
त्यस्तै दैनिक उपभोग्य सामग्रिमा तरकारी, दूध तथा खाद्यवस्तुका पसलहरू बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइनेछ ।
साथै यस्ता पसलहरूका लागि पनि कुन बार कुन पसल खोल्ने भन्ने समेत तोकिएको छ। सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर हप्तामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने छ भनेभाँडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ।
फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्स पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइनेछ भने फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ।