प्रधानसेनापति भन्छन्– ‘इमर्जेन्सीमै सेना परिचालन हुने हो, अहिले पनि हुनसक्छ’
प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटको अवस्थामा सेना परिचालन हुनेगरेको उल्लेख गर्दै अहिलेको अवस्थालाई पनि त्यस्तै संकट मानेर निर्णय भए सेना परिचालन हुन सक्ने बताएका छन्।
काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्नुपर्ने माग स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरुले गरिरहेका बेला प्रधानसेनापतिको यस्तो भनाई आएको हो।
“सेना जहिले पनि इमर्जेन्सीको अवस्थामा मात्र परिचालन हुन्छ”, आफूले सेनाको नेतृत्व सम्हालेको तेस्रो वर्ष प्रवेशका अवसरमा बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले भने, “अहिलेको कोभिड महामारीको परिस्थ्तिि साँच्चै इमर्जेन्सी हो भन्ने राज्यलाई लाग्छ भने त्यो काममा नेपाली सेना प्रयोग हुनसक्छ। इमर्जेन्सीबाहेक अरु अवस्थामा नेपाली सेना सहयोगी अवस्थामा नै बस्नुपर्छ भन्ने सेनाको धारणा हो।” महामारी शुरु भएयता सेना फरक भूमिकामा परिचालित नै रहेको समेत प्रधानसेनापतिले उल्लेख गरे।
“क्वारेन्टाइन व्यवस्थापन, सीमाबाट प्रवेश गर्ने नेपाली नागरिकको व्यवस्थापनमा अरु सुरक्षा निकायसँग सहयोग सहयोग समन्वय गर्ने होस् या तेस्रो मुलुकबाट फिर्ता आउने हाम्रा नेपालीहरुको व्यवस्थापनमा, हामी खटिरहेकै छौं”, उनले भने, “सीसीएमसी स्थापना हुँदा नै नेपाली सेनालाई अपरेसन लाइन अफ इफोर्टको अंगको रुपमा परिचालन गरिएको थियो। त्यसकारणले गर्दा हामी त्यही सेक्युरिटी लाइन अफ इफोर्टको एउटा हिस्साको रुपमा अहिले परिचालित भइरहेकै छौं।”