नेवानिलाई आन्तरिक उडानको जहाज खरिद योजना बनाउन निर्देशन
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्र उडान गर्ने जहाज खरिद योजना बनाउन नेपाल वायुसेवा निगम (नेवानि)लाई निर्देशन दिएका छन्।
दुर्गम क्षेत्रका नागरिकहरूलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेवानिलाई मन्त्री भट्टराईले निर्देशन दिएको पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
२४ भदौ (बुधबार) नेवानि कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँगको बैठकमा मन्त्री भट्टराईले निगमलाई आन्तरिकतर्फ दुईवटा मात्र टुईनटर जहाज भएको र त्यसले माग धान्न नसकेको हुँदा दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसकिएकोले पनि तत्काल नयाँ जहाज खरिद योजना बनाउन निर्देशन दिएका हुन्।
मन्त्री भट्टराईले निगमलाई ‘पब्लिक मोडल’मा लैजान उपयुक्त विधिको खाका तयार पार्न पनि निर्देशन दिएको पर्यटन मन्त्रायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खाकाको नागरिक लगानी, कर्मचारी संचय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरेर उपयुक्त बनउन पनि निर्देशन दिएका हुन्।
निगमलाई आफ्नो स्थिति सुधारको लागि आ-आफनो विभागबाट तत्कालीन र दीर्घकालिन योजना बनाएर अघि बढन पनि उनले आग्रह गरे। निगम ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पत्ति (जग्गा) व्याववसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्नपनि मन्त्रीले आग्रह गरेका छन्।
मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारबाही गर्न अध्यक्ष सुशिल घिमिरलेलाई निेर्देशन दिए।
खर्च कटौती तथा मितव्ययिता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न भनिएको छ।
मन्त्री भट्टराईले जीएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान ऐजेन्सी छनोट गर्न तथा आवश्यक मापदण्ड बनाउन पनि निगम पदाधिकारीलाई आग्रह गरेका छन्।