‘आर्थिक क्रियाकलाप अगाडि नबढाए अर्थतन्त्रमा सम्हाल्नै नसक्ने संकट आउँछ’
कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्रियाकलाप सुस्त छ। उद्योग व्यवसाय गहिरो संकटमा परेका छन्, लाखौंले रोजगारी गुमाएका छन्। यो महामारीका कारण शिथिल बनेको नेपाली अर्थतन्त्रले कहिले पुनर्लय समात्छ भन्ने अनिश्चित छ। कोभिड–१९ का कारण अर्थतन्त्रमा निम्तिएको संकट कति गहिरो छ, यसले कति लामो समयसम्म प्रभाव पर्छ तथा संकट न्यूनीकरणका लागि के–कस्ता पहल आवश्यक छन् भन्ने बारेमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएएफ) मा दुई दशक तथ्यांकशास्त्री र अर्थशास्त्रीका रुपमा काम गरेका माणिकलाल श्रेष्ठसँग गरिएको कुराकानीको संक्षेप:
कोभिड–१९ महामारीले निम्त्याएको संकटका कारण अर्थतन्त्रमा निम्तिएको संकट कति गहिरो छ ?
देशको अर्थतन्त्र शिथिल मात्रै होइन, भयावह संकटको दिशामा डोरिएको छ। सरकारले विवेकपूर्वक काम नगर्ने हो भने उद्योग व्यवसाय, रोजगारी, आर्थिक क्रियाकलाप धान्नै नसक्ने डरलाग्दो अवस्था आउन सक्छ। हजारौंले रोजगारी गुमाएका छन्। रोजगारीको अवसर सिर्जना हुने सम्भावना झन् कमजोर भएको छ। उद्योग व्यवसायको उत्पादनमूलक क्षमता खस्किएको मात्र छैन, अहिलेकै स्थिति कायम रहे सधैंका लागि बन्द हुने जोखिम छ। दशकौं लगाएर बनेको उत्पादनमूलक संरचनामा यस्तो क्षति आए त्यो अर्थतन्त्रका लागि दूर्भाग्यपूर्ण हुन्छ। व्यवसाय टाट पल्टिनुको अर्थ लाखौं निक्षेपकर्ताको रकम रहेको वित्तीय क्षेत्र धर्मराउनु हो। सरकार आर्थिक सूचक सकारात्मक छन् भनेर बसेको छ, तर जहाँ डुब्न लागिसक्यो, त्यतातिर भने ध्यान दिएको छैन। सचेततापूर्वक कदम नचाल्ने हो भने आर्थिक मात्र होइन, सामाजिक संकट पनि निम्तिनसक्छ।
''अर्थतन्त्रले अब बन्दाबन्दी थेग्न सक्दैन। कोरोना संक्रमण विस्तार हुन नदिने अन्य उपाय खोज्दै आर्थिक क्रियाकलाप सञ्चालन गर्नुको विकल्प छैन। पर्यटन, होटल लगायत कतिपय क्षेत्र त कैयौं समयसम्म उठ्न सक्दैनन्। तर, बाँकी क्षेत्र पनि अब बन्दाबन्दी थेग्न नसक्ने अवस्थामा पुगिसकेका छन्।''
लामो समय बन्दाबन्दी गरिसक्यौं, अर्थतन्त्रले कति समय बन्दाबन्दी थेग्न सक्छ ?
अर्थतन्त्रले अब बन्दाबन्दी थेग्न सक्दैन। कोरोना संक्रमण विस्तार हुन नदिने अन्य उपाय खोज्दै आर्थिक क्रियाकलाप सञ्चालन गर्नुको विकल्प छैन। पर्यटन, होटल लगायत कतिपय क्षेत्र त कैयौं समयसम्म उठ्न सक्दैनन्। तर, बाँकी क्षेत्र पनि अब बन्दाबन्दी थेग्न नसक्ने अवस्थामा पुगिसकेका छन्। मानिसहरुको आम्दानी घटेका कारण बजारमा वस्तु र सेवाको माग ह्वात्तै खस्किएको छ। बचत भएकाहरुले समेत बजार ठप्प रहेकाले उपभोग गर्न पाएका छैनन्। उद्योग व्यवसायहरुको पनि उत्पादनमूलक क्षमता खस्किएको छ। रोजगारी गुमाएका तथा विपन्न नागरिक विकल्पहीन बनेका छन्। यस्तोमा थप बन्दाबन्दी थेग्न सकिंदैन।
सरकारले संकटमा परेका व्यवसाय र विपन्न नागरिकका लागि अगाडि सारेको राहत कति प्रभावकारी थिए ?
यस्तो संकट निकट विगतमा नभोगिएकाले राहत, सहयोग कसरी गर्ने भन्ने विषय हाम्रा लागि नयाँ थिए। सीमित साधन–स्रोतका बावजुद शुरुआतमा सरकारले केही कार्यक्रम अगाडि सारेको थियो। वास्तवमा, सरकारले चलाखीपूर्वक आफूलाई भार नपर्ने गरी राहत घोषणा गरेको थियो। ब्यांक तथा वित्तीय संस्था मार्फत कर्जामा दिइएको विभिन्न सुविधाको भार सरकारलाई पर्दैन। उद्योग व्यवसाय क्रमशः सञ्चालनको दिशामा लैजान सकिएको भए मानिसहरूको आय बढ्ने कारण त्यस्ता सहयोगका कार्यक्रमले काम गर्थे, सरकारको उनीहरुप्रतिको दायित्व पनि कम हुन्थ्यो। तर, बन्दाबन्दी लम्ब्याउँदै लगिएका कारण घोषणा गरिएका राहत र सहयोगका कार्यक्रम पनि प्रभावकारी हुन सकेनन्।
नेपालसँग राहतमा खर्च गर्नसक्ने ठूलो आर्थिक क्षमता छैन। सरकारले रोजगारी गुमाएका, विपन्न र व्यवसायलाई बचाउन ठूलो स्रोत आवश्यक पर्ने विकल्प अगाडि सार्न सक्ने अवस्था थियो र ?
विकसित मुलुकहरु जस्तो सरकारसँग ठूलो आर्थिक सहायताको प्याकेज घोषणाा गर्ने सुविधा थिएन। तर, कुनै न कुनै रुपमा अर्थतन्त्र चलायमान बनाइराख्नुपर्छ भन्ने चाहिं सरकारले बुझ्नुर्थ्यो। व्यावसायिक क्रियाकलाप चलायमान राख्न सकेको भए उद्योगहरुले उत्पादन गर्न र व्यवसाय चल्न थाल्थे, जसकारण उनीहरुलाई सञ्चालन पूँजी अभाव हुँदैनथ्यो। ब्यांक तथा वित्तीय संस्थाको ऋण परिचालन हुन्थ्यो। अर्कातिर, मानिसहरुले रोजगारी आय गर्ने कारण उनीहरुप्रति पनि सरकारको दायित्व कम हुन्थ्यो। यसले अर्थतन्त्रको समग्र चक्रलाई जोडेर चलायमान बनाउँथ्यो।
बन्दाबन्दीका कारण खासगरी साना र मझौला व्यवसायमा बढी मार परेको भनिंदैछ। त्यस्ता व्यवसाय पुनरुत्थान हुन कति सजिलो वा अप्ठेरो देख्नुहुन्छ ?
आर्थिक विपत्तिको झड्का शुरुमा आर्थिक क्षमता कमजोर भएका साना र मझौला उद्योगलाई नै बढी लाग्छ। थोरै लगानी भएका यस्ता कैयौं उद्योग व्यवसाय धर्मराएका हुनसक्छन्। उनीहरुको वित्तीय पहुँच पनि कमजोर हुन्छ। त्यसैकारण, कतिपय साना र मझौला उद्योग त सधैंका लागि बन्द हुने जोखिम छ। कतिपय साना उद्यमीको त उठिबासै लागिसकेको छ। त्यसलाई ख्याल राख्दै स्थानीय सरकारहरुले पनि यस्ता साना र मझौला उद्योगलाई बचाउन त्यस्ता व्यवसायको पहिचान गरी सहायताका कार्यक्रम अगाडि बढाउनुपर्छ।
गएको आर्थिक वर्षमा अर्थतन्त्रको नकारात्मक वृद्धि भएको प्रक्षेपण तपाईंले गर्नुभएको छ। चालु आर्थिक वर्षबारे कस्तो आकलन गर्नुहुन्छ?
अन्तर्राष्ट्रिय मुद्रा कोषमा बसेर संसारभरिका विभिन्न देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तथ्यांक केलाएको तथा रुपरेखा बनाएको आधारमा मैले तथ्यांक विश्लेषण गरेर अर्थतन्त्रको नकारात्मक वृद्धि भएको आकलन गरेको हुँ। गएको आर्थिक वर्षको अन्तिम झण्डै चार महीना आर्थिक क्रियाकलाप ठप्पप्रायः रह्यो। सरकारले वैशाखमा आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरे पनि वास्तविक वृद्धिदर कति भयो भनी देखाएको छैन। उपलब्ध तथ्यांकमा आधारित मेरो अध्ययनले गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.६२ प्रतिशत नकारात्मक भएको छ। अझ, यो त आशावादी भएर गरिएको विश्लेषण हो। स्थिति यो भन्दा खराब हुनसक्छ।
चालु आर्थिक वर्षमा मौसमी अनुकुलता तथा विदेशबाट फर्किएका युवाले श्रम लगाउने कारण कृषि उत्पादन बढ्ने अपेक्षा गरिएको थियो। तर, प्रमुख बाली धानमा हाल्ने रासायनिक मल उपलब्ध नभएकाले उत्पादन बढ्नेमा आशंका छ। यो आर्थिक वर्षको पनि झण्डै तीन महीना आर्थिक क्रियाकलाप अत्यन्त सुस्त देखिन्छ। आर्थिक क्रियाकलाप नखुलाउने हो भने यो वर्ष पनि अर्थतन्त्र संकुचित हुनसक्छ। जीडीपीको तथ्यांक राख्न थालिएयता नेपालको अहिलेसम्म लगातार दुई वर्ष आर्थिक वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको छैन, बन्दाबन्दी अझै लम्ब्याउने हो भने त्यो जोखिम छ।
अर्थतन्त्रले फेरि लय समात्न कति समय लाग्ला ?
नेपाल राष्ट्र ब्यांकले गरेको अध्ययनमा व्यवसायीहरुले उद्योग व्यवसायले पुनर्लय समात्न औसतमा करीब ९ महीना लाग्ने उल्लेख गरेका छन्। तर, त्यो पनि बन्दाबन्दी सकिएर आर्थिक क्रियाकलाप सहज भएपछि मात्रै हो। मेरो विचारमा, संक्रमण विस्तार हुन नदिने उपायहरु खोज्दै आर्थिक क्रियाकलाप सुचारु बनाउने, आपूर्ति श्रृंखलालाई कायम राख्ने, बजार, श्रम र पूँजीको सञ्चालन निर्बाध गर्न दिने हो भने यो वर्षको अन्तिमसम्ममा अर्थतन्त्रले पुनर्लय समात्छ। पर्यटन, होटल लगायतका केही क्षेत्र पुनरुत्थान हुन लामो समय लाग्ने भए पनि अर्थतन्त्रका अरु क्षेत्रले छिटै गति समात्छ भन्ने मेरो अनुमान छ।
''संक्रमण विस्तार हुन नदिने उपायहरु खोज्दै आर्थिक क्रियाकलाप सुचारु बनाउने, आपूर्ति श्रृंखलालाई कायम राख्ने, बजार, श्रम र पूँजीको सञ्चालन निर्बाध गर्न दिने हो भने यो वर्षको अन्तिमसम्ममा अर्थतन्त्रले पुनर्लय समात्छ। पर्यटन, होटल लगायतका केही क्षेत्र पुनरुत्थान हुन लामो समय लाग्ने भए पनि अर्थतन्त्रका अरु क्षेत्रले छिटै गति समात्छ भन्ने मेरो अनुमान छ। ''
हाम्रा कतिपय ठूला उद्योग र औद्योगिक क्षेत्रहरु बस्तीभन्दा टाढा छन्। ग्रामीण क्षेत्रमा त घरहरु नै छरिएका छन्। ठूला उद्योग र आयोजनाहरुमा निश्चित संख्याका कामदारलाई भित्रै राखेर काम सञ्चालन गर्न सकिन्छ। कच्चा पदार्थ तथा उत्पादित सामग्रीलाई बजारसम्म पु¥याउने आपूर्तिको श्रृंखलालाई चलायमान र निर्बाध बनाउन सके शिथिल अर्थतन्त्र उकासिन धेरै समय लाग्दैन।
अर्थतन्त्रलाई चलायमान बनाउन अब कस्ता योजना र कार्यक्रम अगाडि सार्नुपर्ला ?
अर्थतन्त्रलाई चलायमान बनाउने अत्यावश्यक कुरा त क्रमिक रुपमा आर्थिक क्रियाकलाप सुचारु गर्दै व्यावसायिक वातावरण बनाइदिने हो। अहिले नै यो नगर्ने हो भने भविष्यमा स्थिति जटिल भएर सम्हाल्नै नसक्ने हुनसक्छ। संसारभरि अर्थतन्त्रलाई उकास्न अनेकौं नीति र योजना अगाडि सारिएको छ। तर, यस्ता नीति र योजनाले त्यतिवेला काम गर्छ, जब यसप्रति आम नागरिकको विश्वास हुन्छ। हाम्रो सरकारको काम गर्ने तौरतरिकाका कारण सर्वसाधारणको विश्वास धर्मराएको देखिन्छ। हर समस्यासँग जुध्न सरकार तयार छ र जिम्मेवारी लिन्छ भन्ने विश्वास दिलाउनुपर्छ। योजना बनाएर मात्र परिणाम आउँदैन।
अर्थतन्त्रलाई चलायमान बनाउन अनेकौं पहल गर्नुपर्छ। हरेक आर्थिक संकटपछि व्यवसाय उकास्न सरकारतिरै हेरिन्छ। सरकारले उद्धार गरिदिएका कारण सन् २००८ को आर्थिक संकटपछि अमेरिकामा ठूला उद्योगलाई राष्ट्रियकरण गरियो भनिन्थ्यो। नेपालमा पनि साँच्चिकै व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् भने उद्धार गरिदिने जिम्मा सरकारले लिनुपर्छ। कृषिमा काम गर्ने साना र मझौला व्यवसायका उत्पादन स्थानीय सरकारले किनिदिएर बिक्री गर्ने व्यवस्था मिलाउनसक्नुपर्छ।
हरेक संकटले नयाँ अवसर पनि सिर्जना गर्छ भनिन्छ, नेपाली अर्थतन्त्रका लागि अहिलेको संकटले केही नयाँ अवसर सिर्जना गर्ने देख्नुहुन्छ ?
नेपालमा विकास, आर्थिक विस्तार तथा रोजगारी सिर्जनाका लागि जहिले पनि अवसर थियो। तर, त्यसका लागि राम्ररी काम गर्न सकेनौं। हाम्रो काम गर्ने तौरतरिका, विकास, सुशासनमा रहेका अप्ठ्यारा सुल्झाउन ती समस्यालाई पर्गेल्ने र समाधान गर्ने अहिले उपयुक्त समय हो। अर्थतन्त्रको संरचनागत समस्याहरुलाई सुल्झाउन पनि काम गर्नुपर्ने बेला यही हो।
''देशभित्र उद्यमशीलता विकासका लागि कुनै बलियो पहल गर्न सकेका छैनौं। त्यसैले वैदेशिक रोजगारीबाट फर्केका युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर ज्यालादारी अर्थतन्त्रलाई उद्यमशील अर्थतन्त्रमा बदल्ने यो उपयुक्त मौका हो।''
शारीरिक श्रम गर्न सक्ने क्षमताका युवालाई वैदेशिक रोजगारीमा पठाएर हामीले ज्यालादारी अर्थतन्त्र निर्माण गरेका छौं। देशभित्र उद्यमशीलता विकासका लागि कुनै बलियो पहल गर्न सकेका छैनौं। त्यसैले वैदेशिक रोजगारीबाट फर्केका युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर ज्यालादारी अर्थतन्त्रलाई उद्यमशील अर्थतन्त्रमा बदल्ने यो उपयुक्त मौका हो। विदेशबाट युवा फर्किएपछि दुई आधारभूत कुरामा परिवर्तन हुने देख्छु, पहिलो देशभित्र श्रम बजारमा प्रतिस्पर्धा थपिन्छ र उत्पादकत्व क्षमता, सीप बढ्छ। दोस्रो, नेपालमा रहेका लाखौं भारतीय कामदार विस्थापित हुन्छन्।
पछिल्ला वर्षहरुमा नेपालमा केही सिर्जनात्मक र व्यावसायिक उद्यम पनि शुरु भएका छन्। तर, सरकारले तिनलाई प्रोत्साहन र सहजीकरण गर्न नसक्दा यस्ता नवप्रवर्तनका उद्यम अझै खुम्चिइरहेका छन्। व्यावसायिक प्रवर्द्धन र उत्पादनविना विकास र आर्थिक समृद्धि सम्भव छैन। अब हाम्रो नीतिगत र अन्य सुधार त्यतातिर निर्देशित हुनुपर्छ।
प्रस्तुति: रमेश कुमार