चितुवाले मानिस किन मार्छ ? तनहुँमा चार वर्षमा गयो ११ बालबालिकाको ज्यान
जंगलबाट बस्तीमा पसेको चितुवाको आक्रमणबाट तनहुँमा मात्र पछिल्लो चार वर्षमा ११ बालबालिकाको मृत्यु भएको छ। चितुवाले किन गर्दैछ मानिसलाई आक्रमण ?
गएको २१ साउन साँझ तनहुँको शुक्लागण्डकी नगरपालिका-२, मसारकी कृष्णमाया रानाका डेढ वर्षीय छोरा नारायणको चितुवाको आक्रमणबाट मृत्यु भयो। घरको पिंढीबाटै बालकलाई चितुवाले तानेको थियो।
छोराले कट्टुमा पिसाब गरेपछि कृष्णमाया अर्को कट्टु लिन घरभित्र गएको वेला चितुवाले तानेको थियो। त्यसपछि करीब डेढ घण्टा खोजेपछि घरभन्दा तलको जंगलमा नारायणको टाउको र एउटा हात भेटियो।
त्यसअघि १७ साउन राति तनहुँकै आँबुखैरेनी गाउँपालिका-१, समस्तीपुरकी १० वर्षीया अमिसा थापा चितुवाको आक्रमणबाट परेर घाइते भइन्। घरको आँगनमा खेलिरहेका वेला चितुवाले आक्रमण गरेपछि गम्भीर घाइते भएकी उनी चितवनको भरतपुरमा उपचारपछि भर्खरै घर फर्किएकी छन्।
चार वर्षमा चितुवाले लियो ११ बालबालिकाको ज्यान
चार वर्षयता तनहुँमा १२ जना बालबालिकालाई चितुवाले आक्रमण गरेको छ। तीमध्ये ११ जनाको मृत्यु भएको छ।
डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार, १ फागुन २०७४ मा भानु नगरपालिका-३, दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। त्यसयता भानु नगरपालिकामा मात्रै चितुवाले ६ जना बालबालिकालाई मारिसकेको छ।
२९ कात्तिक २०७५ मा भानु नगरपालिका-४ की चार वर्षीया रञ्जिला लम्सालको चितुवाको आक्रमणबाट मृत्यु भयो। १५ मंसीर २०७५ मा भानु-२ का १० वर्षीय अमृत गुरुङले पनि चितुवाकै आक्रमणबाट ज्यान गुमाए।
त्यस्तै, २४ जेठ २०७६ मा भानु-२ की ८ वर्षीया पुष्पा अधिकारीको चितुवाको आक्रमणबाट मृत्यु भयो। घरको आँगनमा खेलिरहेका वेला चितुवाको आक्रमणमा परेकी पुष्पाको शव नजिकैको जंगलमा भेटिएको थियो।
२०७६ सालको दशैंको दिन, २१ असोज साँझ भानु-१ जामुनेगैह्राका आशिष बानियाँ (४) ले चितुवाकै आक्रमणबाट ज्यान गुमाए। त्यतिवेला उनी घरछेउको परालको टौवामा बनाइएको पिङ खेल्दै थिए।
“चितुवाका लागि शिकार गर्ने अनुकुल समय साँझ परेपछि नै हो। साँझमा शिकार खोज्दै आएको चितुवाले मृग, कुकुर वा गाईबस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्छन्”, प्राध्यापक तेजबहादुर थापा।
११ कात्तिक २०७६ मा भानु-२ का ऋतिक रोका (७), त्यसको नौ दिनअघि २ कात्तिकमा सोही वडाकी सोनी अछामी (१२) ले पनि चितुवाकै आक्रमणबाट ज्यान गुमाए।
यसैगरी, १३ पुस २०७६ मा शुक्लागण्डकी नगरपालिका-३, का एक वर्ष १० महीनाका रविन नेपाली, त्यसको केही दिनपछि, २१ पुसमा आँबुखैरेनी-१ का ८ वर्षीय पुजन सिंजाली र सोही वर्ष, १३ माघमा बन्दीपुर गाउँपालिका-४ का ११ वर्षीय ईसाक सुनारले पनि चितुवाको आक्रमणबाट ज्यान गुमाए।
सबै घटनामा एउटा समानता के देखिन्छ भने प्रायः आक्रमण साँझको समयमा भएको छ। यस्तै, प्रायः आक्रमण घरको डिल, आँगन वा घरछेउमै घटना भएको छ। डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले चितुवाले प्रायः साँझको समयमा आक्रमण गर्ने गरेको देखिएको बताउँछन्। घरबाहिर कुरेर बस्ने र उपयुक्त मौका पाएको वेला आक्रमण गर्ने देखिएको उनको भनाइ छ।
“घर आसपास झाडी तथा चितुवा लुक्न सक्ने ठाउँ भएको स्थानमा उसले आक्रमण गरेको देखिन्छ। बाख्राको खोर भएको तथा बत्ती नबलेको अँध्यारो घरमा पनि चितुवाले आक्रमण गरेको छ”, काफ्लेले भने।
किन मान्छे मार्दैछ चितुवा ?
जिल्ला वन कार्यालय तनहुँका प्रमुख काफ्लेका अनुसार, चितुवाको आहारा प्रजातिका मृग, बँदेल, खरायो, वनकुखुरा आदि जंगलमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गर्न र मानिसलाई आक्रमण गर्न थालेको हो। खेतीयोग्य जमीन बाँझै राख्ने प्रवृत्ति र बढ्दो शहरीकरणको असर पनि यसमा जोडिएको उनको भनाइ छ।
“जंगलमा उसको आहारा नहुनु, पानीका स्रोत सुक्दै जानु, पानी र आहाराको खोजीमा मृग गाउँ पस्दा चितुवा त्यसकै पछि लागेर आउनु जस्ता कारणले पनि चितुवाले मानिसलाई आक्रण गर्नथालेको देखिन्छ”, डिभिजनल वन अधिकृत काफ्ले भन्छन्।
पछिल्लो समय बढ्दो शहरीकरणले वन्यजन्तु र मानिसबीचको द्वन्द्व बढेको छ। वनजंगल मासिएसँगै चितुवाको वासस्थानमा पनि संकट पैदा भएको छ। वनजंगल छेउका खेत, बारी बस्तीमा परिणत भएपछि जंगलबाट बाहिर आउने चितुवा सिधै बस्तीमा पुग्न थालेको छ। विकासका नाममा जताततै सडक बन्नु, त्यसले जंगलभित्रै चितुवा हिंड्ने बाटोलाई तोड्नु आदि कारण पनि यो अवस्थासँग जोडिएको विज्ञहरू बताउँछन्।
त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभागका प्रमुख, प्राध्यापक तेजबहादुर थापा चितुवाको पहिलो निशाना बालबालिका नहुन पनि सक्ने बताउँछन्। मृग र अन्य आहाराको खोजीमा बस्ती पसेको चितुवाले केही नभेटेपछि साना बालबालिकालाई निशानामा पार्ने गरेको हुनसक्ने उनको अनुमान छ।
“चितुवाका लागि शिकार गर्ने अनुकुल समय साँझ परेपछि नै हो। साँझमा शिकार खोज्दै आएको चितुवाले मृग, कुकुर वा गाईबस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्छन्”, थापाले भने।
“चितुवाले बढी खाने भनेको बाँदर हो। तर, हामीले बाँदर धपाउन थाल्यौं। थुनेर राख्न थाल्यौं। घोरल, रतुवा जस्ता मृगको शिकार गर्ने क्रम बढ्यो। त्यसपछि विस्तारै चितुवा गाउँ पस्न थाल्यो” - प्राध्यापक करनबहादुर शाह।
तर, प्राध्यापक करनबहादुर शाह भने जंगलमा आहारा सकिएकाले चितुवाको निशानामा मानिस परेको भन्ने कुरालाई यसको पहिलो कारण मान्दैनन्। चितुवाले जिब्रोको स्वाद फेर्न चाहने, त्यही भएर मानिसलाई आक्रमण गरेको उनको दाबी छ। साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने हुँदा उनीहरू नै चितुवाको निशानामा पर्ने गरेको शाह बताउँछन्।
अन्य जंगली जनावर घट्दै जानु, वस्ती नजिक जंगल र झाडी बढ्दै जानु जस्ता कारणले चितुवालाई मानिसमाथि आक्रमण गर्न सहज वातावरण बनेकोमा भने उनी पनि सहमत छन्।
चितुवाले मानिसमाथि आक्रमण गर्न थाल्नुको कारण मानवीय भएको प्राध्यापक शाहको टिप्पणी छ। “चितुवाले बढी खाने भनेको बाँदर हो। तर, हामीले बाँदर धपाउन थाल्यौं। थुनेर राख्न थाल्यौं। घोरल, रतुवा जस्ता मृगको शिकार गर्ने क्रम बढ्यो”, शाह थप्छन्, “विस्तारै चितुवा गाउँ पस्न थाल्यो। उसले सजिलै आक्रमण गर्ने भनेको कुकुर हो। कुकुर भुकेको सुनेर पनि चितुवा गाउँ पस्छ।”
“मानिस र चितुवाबीचको द्वन्द्व घटाउनैपर्छ”, शाहको सुझाव छ, “यसका लागि सही तरिका अपनाउनुपर्छ। हामीले बाँदर हटाउनु भएन, अन्य जंगली जनावर मार्नु भएन। त्यसो हुँदा चितुवा गाउँ पस्ने सम्भावना कमै हुन्छ।”
थापा र शाह दुवै घरछेउ खुला स्थान राख्ने, झाडी मास्ने र घरबाहिर पनि बत्ती बाल्ने गर्दा चितुवाको आक्रमणबाट बच्न सकिने बताउँछन्।
गाउँ पस्न नदिने रणनीति
तनहुँमा चितुवाले बालबालिकामाथि आक्रमण गर्ने क्रम बढेपछि अहिलेसम्म चारवटा चितुवालाई समातिएको छ। त्यसका लागि फलामको खोर बनाई त्यसभित्र बाख्रा राखेर चितुवालाई जालमा पार्ने गरिएको छ। खोरमा परेका चारवटा चितुवामध्ये दुई वटालाई चितवन राष्ट्रिय निकुञ्ज र दुई वटालाई रूपन्देहीको वनमा छाडिएको छ। तनहुँमा अहिलेसम्म तीनवटा चितुवा मृत अवस्थामा फेला परेका छन्।
“चितुवाको पनि आ–आफ्नो क्षेत्र हुन्छ। भाले पोथी समेत छुट्टै बस्छन्। प्रजननका वेला मात्र भेट हुन्छन्”, प्राध्यापक शाह भन्छन्, “चितुवाकै बच्चा अर्को चितुवाको आक्रमणमा परेर मरेका घटना पनि छन्।”
वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई १० लाख रूपैयाँ राहत उपलब्ध गराउने गरिएको छ। वन्यजन्तुको क्षतिको राहत निर्देशिका बमोजिमको राहत रकम तनहुँमा पनि वितरण गरिएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत पण्डितले बताए। उनका अनुसार, अहिलेसम्म राहतस्वरुप रु.९१ लाख ९० हजार ५३३ वितरण गरिएको छ। केही रकम वितरण गर्न बाँकी छ।
डिभिजनल वन अधिकृत काफ्ले चितुवा–मानव द्वन्द्व कसरी कम गर्न सकिन्छ भन्नेबारे पहल भइरहेको बताउँछन्। “चितुवालाई गाउँ पस्न नदिन के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं। स्थानीय तहसँग समन्वय भइरहेको छ”, काफ्लेले भने, “जंगलमा पोखरी बनाउने, कलिलो टुसाका लागि व्यवस्थित रूपले आगो लगाउने र अन्य जंगली जनावरको संरक्षणमा प्रोत्साहन गर्ने लगायतका काम गर्दैछौं।”