‘चलचित्र टीभी’ एप ल्याएकी ऋचा शर्मा भन्छिन्- 'दर्शकको विश्वासले उत्साहित बनाएको छ'
एक दशकअघि 'फस्ट लभ' बाट नेपाली चलचित्रमा प्रवेश गरेकी ऋचा शर्माले चलचित्र निर्माण पनि गरेकी छिन्। उनले 'लूट', 'टलकजंग भर्सेज टुल्के', 'उमा' लगायत चलचित्रमा अभिनय गरेकी छिन्। उनै ऋचाले पछिल्लो समय चलचित्र क्षेत्रमै जोडिएर व्यवसायमा हात हालेकी छिन्।
कोरोना संक्रमण महामारीका कारण सिनेमाहल बन्द भएको समय पारेर उनले घरमै बसेर नेपाली चलचित्रको स्वाद लिन सकिने 'चलचित्र टीभी' नामक एप सार्वजनिक गरेकी छिन्। नेपाली चलचित्रको प्रवर्द्धन गर्दै व्यावसायीकरण गर्ने उद्देश्यले शुरु गरिएको एप सार्वजनिक गरेको करीब दुई महीनामा उत्साहजनक प्रतिक्रिया पाएको उनी बताउँछिन्। ‘चलचित्र टिभी’ एपकी प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शर्मासँग यसै विषयमा हिमालखबरले गरेको संक्षिप्त कुराकानीः
के हो ‘चलचित्र टीभी’ ?
यो एउटा मनोरञ्जनात्मक मोबाइल एप हो। जसमा एकदमै न्यूनतम पैसा तिरेर नयाँ तथा पुराना नेपाली चलचित्र तथा छोटा फिल्महरू हेर्न सकिन्छ। अहिले एन्ड्रोइडको प्लेस्टोरमा मात्र यो एप उपलब्ध छ। आईओएसको लागि तयारी हुँदैछ, चाँडै ल्याउनेछौं। वेबसाइट पनि छ, चलचित्र डट टीभी।
एपप्रतिको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
एकदम सकारात्मक प्रतिक्रिया आइरहेको छ । देश तथा विदेशबाट रजिष्ट्रेसन भइरहेको छ। एपमा आएको समस्याबारे फेसबूक पेज मार्फत हामीलाई प्रतिक्रिया दिएर सहयोग गरिरहनुभएको छ।
अहिलेसम्म कति रजिष्ट्रेसन भएको छ ?
एप लन्च गरेको एक महीनाभन्दा बढी मात्रै भएको छ। यति छोटो अवधिमा पनि १५ हजार भन्दा बढीले रजिष्ट्रेसन गरिसक्नुभएको छ। जुन हाम्रो लागि निकै उत्साहजनक हो। दर्शकले हामीप्रति देखाउनुभएको विश्वासले एकदमै खुशी बनाइरहेको छ।
अहिले थोरै फिल्म मात्रै रहेछ नि !
हो, फिल्म चाहिं अहिले 'छ माया छपक्कै', 'छक्का पन्जा ३' र 'डाइङ क्यान्डल' मात्रै छन्। तर सर्ट फिल्म धेरै छन्। अहिले देखिएका प्राविधिक समस्याहरू समाधान गर्दैअरु नयाँ फिल्महरू पनि राख्दै जाने योजना छ।
एपमा अहिले हेर्न पाइने नयाँ सामग्री के छन् ?
यी तीन फिल्म हलमा हेर्न छुटाएकाहरुले हेर्न सक्नुहुनेछ। नयाँ सर्ट फिल्महरू पनि हेर्न सक्नुहुन्छ। त्यस बाहेक पोखराको ‘पामे फिल्म एण्ड म्यूजिक फेस्टिभल’ को चौथो संस्करण चलचित्र टिभी मार्फत भइरहेको छ। यो फेस्टिभलका फिल्महरू दर्शकले निःशुल्क हेर्न सक्नुहुनेछ। हरेक दिन फेस्टिभलमा एउटा फिचर फिल्म देखाइँदैछ।
कोरोना संक्रमण महामारी नभएर सामान्य अवस्था भएको भए यो फेस्टिभलमा देखाइने फिल्म हेर्न पोखरा पुग्नुपर्थ्यो । अहिले घरैमा बसेर फेस्टिभलमा देखाइने फिचर फिल्महरू चलचित्र टीभीमा हेर्न पाइन्छ। १ सेप्टेम्बरदेखि शुरु भएको यो फेस्टिभल २८ सेप्टेम्बरसम्म चल्नेछ।
तपाईं आफैंले पनि केही उत्पादन गर्नुहुन्छ ?
आफै पनि सर्ट फिल्महरू निर्माण गर्ने तयारी भइरहेको छ। कोरोना संक्रमण महामारी नफैलिएको भए अलि छिटै ल्याउन सकिन्थ्यो। अहिले तत्काल काम गर्न जाने अवस्था छैन। योजना बनाइरहेका छौं। अलि सामान्य अवस्था भएपछि काम अगाडि बढाउँछौं। सम्भवत: माघ, फागुनसम्ममा आफ्नै निर्माणको नयाँ सामग्री लिएर आउनेछौं।