संक्रमणमुक्त भएका सुरेशले आइसोलेसनका लागि दिए रू. ५० हजार
जिल्ला अस्पताल मुगुमा कार्यरत लेखापाल सुरेशकुमार केसीले आफू कोरोना संक्रमणमुक्त भएसँगै आइसोलेसन वार्ड व्यवस्थापनका लागि रू. ५० हजार नगद सहयोग गरेका छन्।
आज जिल्ला प्रशासन कार्यालय मुगुमा सञ्चारकर्मीहरूको रोहोवरमा केसीले आफ्नो दुई महीनाको पारिश्रमिक वापतको ५० हजार रूपैयाँ जिल्ला विपद् व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलालाई हस्तान्तरण गरे।
केसीलाई ८ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल मुगुको आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनी १३ भदौमा कोरोनामुक्त भएका थिए। “उच्च मनोबल, आत्मविश्वास, सकारात्मक सोंच र तनावमुक्त हुनसके कोरोनालाई सजिलै जित्न सकिने रहेछ”, केसीले भने।
रकम हस्तान्तरण गर्दै केसीले जिल्लामा अन्य कसैलाई कोरोना संक्रमण भएर आइसोलेसनमा राख्नुपर्दा थप व्यवस्थापनका लागि सहज होस् र संक्रमितहरूको उच्च मनोबल बढोस् भनेर सहयोग गरेको बताए।
“जिल्ला अस्पतालमै कार्यरत कर्मचारीमा संक्रमण देखिँदा समुदायस्तरमा कोरोना संक्रमण फैलियो कि भनेर साह्रै चिन्ता लागेको थियो”, सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी निरौलाले भने, “त्यसपछि जिल्लामा अन्य धेरैको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो र दोस्रो पटकको परीक्षणमा उहाँको (केसीको) रिर्पोट पनि नेगेटिभ देखिएपछि अहिलेलाई सबै शंका हरायो।”
सहयोग प्राप्त भएको रकम आइसोलेसन व्यवस्थापनमा कसरी लगानी गर्ने भन्नेबारे बैठकमा छलफल गरेर निर्णय गरिने प्रजिअ निरौलाले बताए।