रौतहटमा डीएसपीसहित २० प्रहरीमा कोरोना संक्रमण
रौतहटमा एकैदिन २० जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीसहित २० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले बताए।
गत शुक्रबार चन्द्रपुर नगरपालिकाबाट प्रहरीसहित ४१ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोमा २० जना प्रहरीसहित २८ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको चालिसेले बताए।
आज आएको पीसीआर रिपोर्टअनुसार आफूसमेत २० जना प्रहरीमा कोरोना संक्रमण देखिएको डीएसपी शाहीले बताए। ठूलो संख्यामा प्रहरीमा एकसाथ कोरोना देखिए पनि शान्ति, सुरक्षालगायत इलाका प्रहरी कार्यालयबाट प्रदान गरिने सेवामा कुनै कमी हुन नदिने शाहीले बताए।
आज आएको रिपोर्टमा रौतहटको यमुनामाई गाउँपालिकाका–१२, दुर्गाभगवती गाउँपालिकाका–१८ र २० प्रहरीसहित चन्द्रपुर नगरपालिकाका–२८ गरी ५८ जनामा कोरोना संक्रमण देखिएको छ।
हिजो, २३ भदौका मात्र इलाका प्रहरी कार्यालय गरुडाका ७ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको थियो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुखसहित २० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ थप प्रहरी पठाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले बताए।