‘कुलमानजीलाई निरन्तरता दिने वा नदिनेबारे केही निर्णय भएको छैन’- ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तरता दिने वा निदने विषयमा कुनै निर्णय नभएको बताएका छन्।
“कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता छैन”, प्रेस संगठन रोल्पाले आज लिवाङमा गरेको भेटघाट कार्यक्रममा मन्त्री पुनले भने, “यसबारे हामीले कुनै निर्णय गरेका छैनाैं।”
उनले बहालवाला कार्यकारी निर्देशक घिसिङको पदावधि २९ भदौसम्म रहेकाले त्यसअघि नै सरकारले कसलाई नियुक्त गर्ने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए। मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागिसकेको पनि बताए।