काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने कि थप कडा ? गृहको आदेश कुर्दै सीडीओहरू
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने/नथप्ने, खुकुलो वा थप कडा पार्ने विषयमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गृह मन्त्रालयको आदेश पर्खिेरहेका छन्। पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिँदैछ। यसकारण निषेधाज्ञा थप्ने, नथप्ने, खुकुलो वा कडा पार्ने भन्ने आज नै निर्णय गरिसक्नुपर्नेछ।
अब निषेधाज्ञा थप गर्ने वा नगर्ने अथवा कस्तो स्वरूपको गर्ने भन्नेबारे गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको आदेश पर्खिएर बसेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्। “हामी तीन जिल्लाका सीडीओहरूबीच पनि छलफल भइरहेको छ, थप्ने/नथप्नेबारे मन्त्रालयको आदेश पर्खेर बसेका छौँ”, पाण्डेले भनिन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल भइरहेको र आज साँझ ४/५ बजेसम्म निर्णय हुने बताए। उनका अनुसार यस विषयमा प्रमुख जिल्ला अधिकारीहरूबीच पनि पटक पटक छलफल भएको छ।
स्रोतका अनुसार तीन जिल्लाका सीडीओबीच हिजो भएको छलफलमा निषेधाज्ञालाई खुकुलो बनाउँदै लाने सहमति भएको छ। उपत्यकाभित्र जोर/बिजोर प्रणालीमा सवारी चल्ने दिने, मापदण्ड तोकेर होटल व्यवसाय सञ्चालन गर्न दिनेलगायतका विषयमा सीडीओहरूबीच छलफल भएको छ।
सीडीओहरूबीच बनेको साझा धारणा गृहमन्त्रालयलाई जानकारी गराइएको छ। “मन्त्रालयबाट ‘पोजिटिभ राय’ आए त्यही अनुसार भरेसम्म निर्णय हुन्छ”, उपत्यकाको एक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीले भने।
कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि काठमाडौं उपत्यकामा ३ भदौ रातिदेखि निषेधाज्ञा लागू गरिएको थियो। यसअघि १७ भदौमा सीडीओहरूले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै आजसम्मका लागि लम्ब्याएका थिए।
१७ भदौको निर्णायानुसार भन्सार छुट भएर आएका मालवाहक सवारी सवारीलाई उपत्यकामा प्रवेश गर्न दिने, टेक अवे, स्टार्ट अप र होम डेलिभरी सेवा स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन र खाद्यान्य पसलहरू बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइएको थियो।
हिजो मात्रै उपत्यका नगरपालिका फोरमले निषेधाज्ञालाई खुकुलो बनाउन, यातायातमा जोर/बिजोर प्रणाली लागू गरेर सञ्चालन गर्न र काठमाडौं भित्रिने नाकामा कडाई गर्नका लागि सेना परिचालन गर्न सीडीओहरूलाई सुझाव दिएका थिए।