महामारीबीच घरमै पाइन्छ गर्भपतन सेवा, तालिमप्राप्त बिक्रेतालाई पनि औषधि बेच्न इजाजत
स्वास्थ्य मन्त्रालयले गएको वैशाखमा अन्तरिम निर्देशिका बनाएपछि बन्दाबन्दी र निषेधाज्ञामा पनि प्रजनन् तथा परिवार नियोजनसँग सम्बन्धित सेवा प्रभावकारी रुपमा सञ्चालन हुन थालेका छन्।
कोरोनाभाइरस महामारी नियन्त्रणमा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवासँगै प्रजनन तथा परिवार नियोजन सेवा पनि रोकिएका थिए। अहिले यी सेवा सुचारु गर्न सरकारले अन्तरिम निर्देशिका बनाइसकेको छ। जसकारण प्रजनन् तथा गर्भपतन सम्बन्धी सेवा महिलाले स्थानीयस्तरमै पाउन थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीका अनुसार सबैको ध्यान कोभिड–१९ मा केन्द्रित हुँदा सुरक्षित मातृत्व, परिवार नियोजन, प्रजनन् स्वास्थ्य, खोप तथा गर्भपतनसँग सम्बन्धित सेवा प्रभावित थिए। अन्तरिम निर्देशिका बनाइएपछि प्रजनन्, मातृ, नवजात तथा बाल स्वास्थ्य र गर्भपतन सेवा घरदैलोमा दिन संभव भएको छ।
उक्त निर्देशका बमोजिम दादुरा तथा रुवेला विरुद्धको खोप, भिटामिन ए को क्याप्सुल, खुवाउने कार्यक्रम सम्पन्न भइसकेका छन्। “सबैले कोभिड मात्र भनेर अरु स्वास्थ्य सेवालाई रोक्नु भएन नि। कोभिड त एउटा कम्पोनेन्ट मात्र हो”, तिंकरी भन्छन् “शतप्रतिशत काम नभए पनि अब अन्य स्वास्थ्य सेवाले पनि निरन्तरता पाएका छन्।”
महामारीका कारण समयमा अस्पताल आउन नसक्ने र अन्य विभिन्न कारणले अत्यावश्यक सेवा पनि प्रभावित भएर सुत्केरीको मृत्यु हुन थालेपछि सरकार गम्भीर भएको हो। स्वास्थ्य मन्त्रालयका साझेदार संस्थाहरुसँगको सहकार्यमा निर्देशिका बनाएर सेवा सुचारु गरिएको उनी बताउँछन्।
बन्दाबन्दीले प्रजनन् तथा परिवार नियोजनमा परेको असरका विषयमा मन्त्रालयका तर्फबाट अध्ययन भइरहेको तिंकरीको भनाइ छ। बन्दाबन्दीमा इच्छा विपरीत गर्भधारणको बढी सम्भावना हुने अवस्थालाई ध्यान दिएर गर्भपतन सेवा सहज बनाइएको छ।
खुकुलो बनाइयो गर्भपतन सेवा दिने सम्बन्धी नियम
बन्दाबन्दीअघि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन गराउन सक्नेमा अन्तरिम निर्देशिकाले यो सेवालाई खुकुलो बनाएको छ। अहिले औषधिबाट गरिने गर्भपनसहितका सेवा तथा सूचना प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ। गाउँघरमा अहिले महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भपतन सम्बन्धी काम भएका छन्।
सरकारले औषधि व्यवस्था विभागबाट स्वीकृत गर्भपतनका औषधिहरुको भण्डारण तथा वितरण गर्नका लागि सूचीकृत औषधालयहरु तथा तालिमप्राप्त बिक्रेतालाई इजाजत पनि दिएको छ। यसअघि यस्तो इजाजत थिएन।
निर्देशिकाले मान्यता प्राप्त गैरसरकारी वा निजी क्षेत्रका तालिम प्राप्त दक्ष सेवाप्रदायकहरुले औषधिबाट गरिने गर्भपतन सम्बन्धी घरदैलो सेवा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ। त्यस्तै सुरक्षित गर्भपतन सेवाबारे जानकारी, सेवाको उपलब्धता, विकल्प, खानुपर्ने औषधिको विवरण, र जटिल लक्षणहरुबारे सूचना तथा जानकारी दिन स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा फोन गरेर पनि जानकारी पाउने व्यवस्था छ।
सरकारले औषधि व्यवस्था विभागबाट स्वीकृत गर्भपतनका औषधिहरुको भण्डारण तथा वितरण गर्नका लागि सूचीकृत औषधालयहरु तथा तालिमप्राप्त बिक्रेतालाई इजाजत पनि दिएको छ। यसअघि यस्तो इजाजत थिएन।
सरकारले गएको वैशाखमै निर्देशिका ल्याएर गर्भपतन सेवालाई सहज बनाए पनि पर्याप्त प्रचार प्रसार भएको छैन। पाल्पाको पूर्वखोला गाउँपालिका रिङ्गेरा स्वास्थ्य चौकीमा कार्यरत अनमी रञ्जिता शर्मा आचार्य महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भपतन गर्नुपर्ने सेवाग्राहीहरु आउने गरेको बताउँछिन्। उनले गत जेठमा एक जना तथा साउन र भदौमा दुई/दुई जनाको गर्भपत गराईन्।
“जेठमा घरमै पुगेर सेवा दिएँ, साउन र भदौमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत आउनुभयो,” रञ्जिता भन्छिन्, “गर्भपतन सेवाका बारेमा केही महिलाले आफैँ टेलिफोन मार्फत पनि जानकारी लिनुहुन्छ।” गाउँघरमा चिनजानका धेरै हुने भएकाले गोपनीयता नहुने हुँदा यस्तो सेवा लिन हिच्किचाउने उनको अनुभव छ।
घरदैलोमा पुगेर गर्भपतन सेवा दिने अर्की स्वास्थ्यकर्मी हुन्, इलाम नगरपालिका–१ साखेजुङ्ग स्वास्थ्य चौकीकी अनमी देविका भट्टराई। उनलाई ३१ साउनमा एक महिलाले फोन गरेर अनिच्छित गर्भ बसेकाले गर्भपतन गर्नुपर्ने बताइन्। स्वास्थ्य चौकी आउन सवारी साधनको सहज व्यवस्था थिएन। हिंडेर आए पनि फर्कदा समस्या हुन्थ्यो। अनमी भट्टराईले उनलाई गाउँमै पुगेर सेवा दिइन्।
त्यसैगरी इलामकी एक २० वर्षीय अविवाहित युवती गोपनीयताका कारण इलाम बजार वा झापा पुगेर गर्भपतन गराउन चाहन्थिन्। तर, सार्वजनिक सवारीका साधन नचल्ने हुँदा उनले अनमी भट्टराईसँग आफ्नो समस्या राखिन्। उनले ती युवतीको पनि समस्या समाधान गरिदिइन्। “पहिला महिलाहरुले फोनबाट समस्या राख्नुहुन्छ, सकेसम्म हामी स्वास्थ्य चौकीमै बोलाउँछौं, तर आउन सम्भव नभए घरमै पुगेर भए पनि सेवा दिन्छौं,” उनी भन्छिन् ।