‘भागबण्डामा आधारित कम्युनिष्टसँगको सहकार्य अब तोडिनुपर्छ’
पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा नेपाली कांग्रेसले बीपी जयन्ती र स्मृति सभा गरी वर्षमा दुई पटक कार्यक्रम गर्ने गरेको छ। यस पटक भने कोरोना संक्रमण महामारीका कारण १०७औं बीपी जन्मजयन्ती भर्चुअल कार्यक्रम गरी मनाइँदैछ। बीपी जयन्तीको सन्दर्भमा बीपीले भनेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालासँग हिमालखबरका लागि सइन्द्र राईले गरेको कुराकानीको सारसंक्षेप:
बीपीले भनेको समाजवाद के थियो? अहिले कांग्रेसले कसरी बुझेको छ?
अहिले कोभिड-१९ को संकट छ र विश्वमै सबै सरकार प्रमुखहरू लोकप्रियतावादमा दौडिएका छन्। बीपीले भने राष्ट्रियता र प्रजातन्त्र सँगसँगै लैजानुपर्ने र समाजवादको कुरा पनि गर्नुभएको छ। बीपीले भन्नुभएको प्रजातान्त्रिक समाजवादमा सुशासन, पारदर्शिता, उत्तरदायित्व, जवाफदेही, विधिको शासन, समावेशीकरण थिए।
बीपीले लोकतान्त्रिक समाजवादबारे आजभन्दा ५० वर्षअघि बताउनुभएको थियो। तर, कोभिड महामारीपछि यसको महत्व झनै बढेको छ। विश्व समाजवादी अवधारणातिर अगाडि बढिरहँदा नेपालमा भने मानिसहरू रोगभन्दा पनि भोकले मर्न थाले। बीपीले समाजवादको कुरा उठाउँदा शीतयुद्धको समय थियो र नेपालको आर्थिक अवस्था अत्यन्तै नाजुक थियो। आजको दिनमा बीपीले भनेको समाजवादलाई परिमार्जन गरी सामाजिक सुरक्षा र सामाजिक न्यायमा आधारित भएर शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रवर्द्धन गर्नुपर्छ। गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा आम मानिसको पहुँचमा हुनुपर्छ। यी कुरालाई समावेशीका हिसाबले लैजानेगरी अगाडि बढ्नुपर्छ।
तर, अहिलेको नेतृत्वले त्यो कुरा हेक्का राखे जस्तो त देखिंदैन नि !
बीपीले समाजवादको कुरा गर्दा विश्व दुई ध्रुवमा थियो। सोभियत संघ विघटन भएपछि विश्व नवउदारवादी ‘प्राइभेटाइजेसन’मा गयो। सामाजिक न्याय र सामाजिक सुरक्षातर्फ ध्यान गएन। नेपालमा पनि त्यस्तै भयो। सामुदायिक विद्यालय खुल्ने दर नै घट्यो। पछिल्लो समय निजी विद्यालय तीव्र रफ्तारमा खुले। अहिले कोभिडका कारण अनलाइन कक्षा भनिरहेका छौं। तर, दुर्गम क्षेत्र र गरीब परिवारले कसरी पढ्ने? राजनीति गर्नेहरुले ती असहाय र विपन्न मानिसहरूलाई हेर्नुपर्छ।
त्यो दायित्व सरकारमा रहने र नरहने राजनीतिज्ञहरूको हो। आर्थिक अवस्था कमजोर भएकाहरूलाई हेरेर ऐन र कानून निर्माण गर्नुपर्छ। बीपीले ‘नीति बनाउँदा एउटा किसानको फोटो राख’ भन्ने सन्दर्भ त्यसैका लागि उठाउनुभएको थियो। अहिलेको समस्या के हो भने, नीति नियम एकातिर छ, बिचौलियाले काम गरिरहेको छ। दुर्गम गाउँका विद्यार्थी किताब पाउँदैनन्, किसानले मल पाइरहेका छैनन्। हाम्रो नेतृत्वले गर्ने हरेक निर्णयमा त्यस्ता मानिस सम्झनुपर्छ। त्यसबेला मात्रै बीपीको सपना पूरा हुन्छ।
तपाईंले भनेको कुरा अगाडि बढाउन कांग्रेस कहाँ चुक्यो?
बीपीले आफ्नो परिवारको जस्तै अवस्थामा अरु नागरिकलाई पनि उठाउँछु भन्नुभयो। सिंगापुर र स्वीजरल्याण्ड जस्तो बनाउँछु भन्नुभएन। तर, त्यतातिर कांग्रेसको ध्यान गएन। स्वास्थ्यमा भने केही मात्रामा गयो। २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र रामवरण यादव स्वास्थ्यमन्त्री हुँदा बीपीकै सोचमा आधारित भएर स्वास्थ्य नीति ल्यायौं। काठमाडौं क्यान्सर अस्पताल खोल्नुपर्छ भनेर धेरै दबाव हुँदाहुँदै जिल्लामा लगियो। मेडिकल कलेज धरानमा बनाइयो। स्वास्थ्यमा केही सुधार भयो, तर शिक्षामा हुन सकेन। सामुदायिक विद्यालयलाई राम्रो बनाउनतिर ध्यान गएन। विश्वविद्यालयहरुमा सुधार हुन सकेन।
कांग्रेसले २०४६ साल पछाडि समातेको उदार अर्थ नीति र लोकतान्त्रिक समाजवाद चाहिँ कसरी एउटै दलको नीतिभित्र पर्न गयो?
हामी नवउदारवादतिर लागेनौं भन्दिनँ। विश्व नै त्यतातिर गइरहेकाले त्यो पदचाप समात्न खोजियो। तर, सामाजिक न्याय र सामाजिक सुरक्षामा चुक्यौं जस्तो लाग्छ। त्यसलाई ध्यान दिएर गरीब र असहायलाई ध्यानमा राखेर अगाडि बढ्दै गए पछ्याउन सक्छौं जस्तो लाग्छ।
बदलिंदो परिवेशमा अब कांग्रेस कसरी अगाडि बढ्छ? अहिले चलिरहेकै जसरी कि केही पुनःसंरचनाको खाँचो देख्नुहुन्छ?
कांग्रेसलाई पूर्णरूपमै पुर्नसंरचना गर्नुपर्ने अवस्था आएको छ। राजनीतिक दल र त्यो पनि प्रतिपक्षी त एकदमै जुझारु हुनुपर्ने हो। तर, अहिले शिथिल छ। पार्टीभित्र हामीबीचमा तिक्तता छन्। त्यो महाधिवेशनको कारण पनि भएकाले स्वाभाविक हो। कांग्रेस अहिले आन्तरिक लोकतन्त्र नै नभएको पार्टी जस्तो देखिन्छ। आमनिर्वाचनमा हामी पराजित भयौं। लोकतन्त्रमा हारजित ठूलो विषय होइन। तर, त्यो निर्वाचनको परिणामलाई ध्यान दिएर एक वर्षभित्र महाधिवेशन गरेको भए आज नेपाली कांग्रेसको धार अर्कै हुने थियो। जुझारुपन आइसक्ने थियो। नेतृत्वमा बसेका साथीहरूले त्यसलाई ध्यान दिनुभएन। कतिसम्म भने, निर्वाचनमा पराजय भएको ६ महीनासम्म त हाम्रो केन्द्रीय कार्यसमिति बैठक समेत बसेन।
हामी लोकतान्त्रिक पार्टी भएकाले अरु दलहरूलाई पनि लोकतन्त्रका आधारभूत नियम, विधिको शासन, सुशासन जस्ता विषय सिकाउनुपर्ने हो। अहिले कांग्रेस त कस्तो भयो भने, संविधान जारी गरेको नेतृत्वकर्ता दल भनेर हामी गर्व गछौं। तर, अधिकांश साथीले यो संविधानको अपनत्व लिन तयार छैनन्। यो विडम्बना हो। अपनत्व नलिने हो भने महाधिवेशनले फेरि छलफल गरोस्। संघीयता र गणतन्त्रमै असहमति त हुँदैन नि! संविधान जारी गरेको गर्व गर्ने अनि अपनत्व पनि नलिने हो भने हामी कहाँ हुन्छौं भन्ने कल्पना गरौं।
२०७२ सालको संविधानसम्म आइपुग्दा कम्युनिष्टहरू पनि संसदीय राजनीति मान्ने अवस्थामा पुग्नुले कांग्रेसले लिएको सैद्धान्तिक जग थप बलियो भएको छ। तर, निर्वाचन त कम्युनिष्टले जितेको छ। यसलाई प्राविधिक रूपमा मात्रै लिन मिल्ला?
बीपीको विचार कम्युनिष्टहरूसँग सहकार्य गरेर अगाडि बढ्नु हुँदैन भन्ने थियो। तर, विश्वको लहर एकातिर गइरहेको थियो र नेपालमा राजाको पञ्चायत शासन थियो। राजाको अधिनायकवादी शासन ढालेर लोकतन्त्र ल्याउन कांग्रेस नेतृत्वले कम्युनिष्टसँग सहकार्य गर्यो। त्यसपछि २०५८ सालपछि गणतन्त्रका लागि फेरि एमाले र माओवादीसँग सहकार्य गरियो। त्यो गणतन्त्रका लागि थयो।
तर, त्यो सहकार्य बढ्दै गएर एमाले र माओवादीसँगै कांग्रेस पनि बिचौलियाको खेलमा फसिरह्यो। २०६३ सालपछि अर्को संविधान नबनेसम्म त स्थानीय निकायहरूमा दलहरू मिलेपछि जे पनि हुन थाल्यो। आजको दिनसम्म पनि त्यो प्रवृत्ति चलिरहेको छ। स्थानीय सरकार बनेपछि अब त त्यस्तो काम छोड्नुपर्यो। कति ठाउँमा कांग्रेसले नेतृत्व लिएको छ, त्यहाँ आफ्नो दलको अजेण्डा लिएर हिंड्नुपर्यो।
बीपीको समाजवादमा केही परिमार्जन गरेर राष्ट्रियता र प्रजातन्त्रबारे कम्युनिष्टहरूसँग सहकार्यबारे पुनर्विचार गर्नैपर्छ। कम्युनिष्टसँग कतिसम्म मिल्ने भन्ने प्रष्ट गर्नुपर्छ। माथिदेखि तलसम्म भागबण्डा लिन सहकार्य गरिनुहुन्न। कम्युनिष्टसँगको सहकार्यबारे रूपरेखा नै कोर्नुपर्ने बेला भइसक्यो।
तर, कांग्रेसले केन्द्रमै पनि विभिन्न पदको भागबण्डाका लागि कम्युनिष्टसँग सहकार्य गरिरहेकै छ। कसरी सम्भव होला रोकिन?
सधैँ भागबण्डाको सहकार्य गरेर त कांग्रेस सशक्त हुनै सक्दैन। बीपीको विचारलाई लिने हो भने गणतन्त्र आइसकेको फरक परिवेशमा कम्युनिष्टसँगको सम्बन्धबारे पुनःपरिभाषा गर्नैपर्छ। त्यसको विकल्प छैन।
कांग्रेसको १४औं महाधिवेशन नजिकिंदो छ। बीपीकै समाजवाद बुझ्ने नेतृत्व चाहिँ कस्तो हुनुपर्छ?
आउँदो महाधिवेशनबाट कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा मैले उठाएको छु। किनभने, विश्वव्यापी रूपमा आइरहेको परिवर्तन र प्रविधि आत्मसात् गर्नसक्ने नेतृत्व चाहिएको छ। युवा र महिलाहरुलाई बढी अवसर दिइनुपर्छ। यसमा मैले ४०–५०–६० भन्ने गरेको छु। अर्थात्, पार्टी संगठनमा मात्रै होइन, निर्वाचनमा टिकट वितरण गर्दा स्थानीय तहमा ६०, प्रदेशमा ५० र केन्द्रमा ४० प्रतिशत युवा र महिलाका लागि छुट्याउनुपर्छ। यसले कांग्रेसमा अनुभव र ऊर्जाको संयोजन हुनेछ। अनुभवले नीति, नियम र कानून निर्माणमा काम गर्छ भने नीति कार्यान्वयमा ऊर्जा खर्च गर्नुपर्छ।
अर्काे विषय, कांग्रेसलाई माया गर्ने पंक्तिलाई माया गर्न सिक्नुपर्छ। जसले, माओवादीको हिंसात्मक विद्रोह जस्तो कठिन दिनहरूमा पनि चारतारे झण्डा लुकाएर कांग्रेस बचाएका थिए, उनीहरूको समस्या बुझिदिनुपर्छ। त्यो घरको समस्या, सामाजिक समस्या जे पनि हुन सक्छ। जसले कांग्रेस बचायो, उनीहरूको स्वास्थ्य बीमादेखि सामाजिक सुरक्षाका क्षेत्रहरूमा हेरिदिनुपर्छ।
कांग्रेसमा अहिले नैतिकता र संस्कारको संकट छ। बीपीले राजनीतिक नैतिकता र संस्कार दिएर जानुभयो। नैकिताबिना राजनीति हुन सक्दैन।