नाकामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दै
काठमाडौं उपत्यका प्रवेशको पूर्वी नाका काभ्रेपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढेको पाइएको छ। एक साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो। हाल साेही नाकामा खटिएका थप आठ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ।
मङ्गलबार काभ्रेपलाञ्चोकमा देखिएका १० संक्रमितमध्ये आठ साँगा नाकामा तैनाथ सशस्त्र प्रहरी रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ। संक्रमितलाई उपचारका लागि तत्कालै आइसोलेसनमा राखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए।
उनका अनुसार जिल्लामा हालसम्म ४० सुरक्षाकर्मीमा संक्रमण देखिएको छ। नेपालमा कोरोना संक्रमण देखिएयता उपत्यका प्रवेशको पूर्वी नाका साँगामा नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगै थप सशस्त्र प्रहरी तैनाथ गरिएको थियो।
गत साउनमा साँगा नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ मा कोरोना संक्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले एक हप्ताको अवधिमा सवारी साधनका तीन हजार ४८२ यात्रुको स्वाब परीक्षण गर्दा १३ मा कोरोना पोजिटिभ भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
उनका अनुसार लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेश गर्ने तीन नाका काभ्रेपलाञ्चोकको साँगा, ललितपुरको फर्पिङ र काठमाडौंको थानकोटमा यात्रुको कारोना परीक्षण गर्न स्वाब सङ्कलन गरिएको थियो।
साताअघि साँगा नाकामा संक्रमण देखिएका दुई सुरक्षाकर्मीको सम्पर्कमा आएकाको पीसीआर परीक्षण गर्दा केहीलाई संक्रमण देखिएको सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले जनाएको छ।
‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका पाँचखालस्थित् वीरेन्द्र सैनिक तालिम केन्द्रका पाँच जनामा समेत कोरोना संक्रमण देखिएको छ। पछिल्लो समय जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना संक्रमण दर बढिरहेको तथ्याङ्कले देखाएको छ।
हालसम्म बनेपास्थित सङ्घीय प्रहरी कार्यालयका १९ प्रहरी कर्मचारी, सशस्त्र प्रहरीका १०, धुलिखेलस्थित नेपाली सेनाका आठ र जिल्ला प्रहरी कार्यालय धुलिखेलका तीन प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ।