नवलपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु
नवलपुरको देवचुली नगरपालिका–१ का कोरोनाभाइरस संक्रमित ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको छ।
केही समयदेखि उनको मिर्गौलाले काम नगरेका कारण डाइलासिस भइरहेको थियो। उनलाई १९ भदौमा कोरोना संक्रमण देखिएको थियो। खोकी र श्वासप्रश्वासमा समस्या भएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई सघन उपचार कक्ष (आईसीयु) मा सारिएको थियो।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ।
त्यस्तै आज बिहान कास्कीको पोखरामा नौ, बाग्लुङ र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) एक÷एक जना गरी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गण्डकीमा हालसम्म सङ्क्रमितको सङ्ख्या दुई हजार ६७२ पुगेको छ।