सेमिफाइनलमा टुङ्गियो सन्दीपको सीपीएल यात्रा
क्यारेबिएन प्रिमियर लिग (सीपीएल) को सेमिफाइनलबाट जमैका तालावाहज बाहिरिएपछि नेपाली युवा स्पिनर सन्दीप लामिछानेको यात्रा पनि टुङ्गिएको छ। हिजो राति भएको पहिलो सेमिफाइनलमा तालावाहाज ट्रिनबागो नाइट राइडर्ससँग नौ विकेटले पराजित भयो।
टस हारेर पहिला ब्याटिङका लागि आएको तालावाहाजले गतिलो शुरुआत गर्न सकेन। उसका शीर्ष तीनमध्ये दुई जना शून्यमा र एक जना दुई रनमै बाहिरिए। एनक्रुमाह बोनरले ४३, रोभमान पावेलले ३३ र कार्लोस ब्राथवेटले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाएनन्।
तालावाहजले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो। बलिङतर्फ नाइट राइडर्सका लागि अकिल हुसैनले तीन, खेइरे पियरेले दुई तथा सुनिल नराइने र फवाद अहमदले एक एक विकेट लिए।
१०८ रनको झिनो स्कोर पछ्याउने क्रममा नाइट राइसर्डले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। उसका लागि लेन्डले सिमोन्सले अविजित ५४ तथा टिवन वेवस्टारले अविजित ४४ रनको पारी खेले।
सीपीएलमा उत्कृष्ट लयमा रहेका जमैकाका मुजिबउर रहमानले मात्र एक विकेट लिए। उनले सुनिल नराइनको विकेट लिएका थिए।
सन्दीप भने पहिलोपटक विकेटविहीन रहे। यसअघि उनले बलिङ गरेका प्रत्येक खेलमा विकेट लिएका थिए। १० खेलमध्ये नौ वटामा उनले बलिङ गरेका थिए। प्रतियोगिताभरि उनले १२ विकेट लिए।
सेमिफाइनलमा उनले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए। तीन वाइड बल फालेका उनलाई नाइट राइडर्सका खेलाडीले एक छक्का तथा दुई चौका प्रहार गरे। सन्दीप यो प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा पाचौँ स्थानमा छन्।
सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। सीपीएलपछि अब उनी इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्न युएई जानेछन्।