कोरोना अपडेट: एक हप्तामा संक्रमित निको हुने दर १४ प्रतिशतले बढ्यो
मुलुकमा पछिल्लो एक हप्ताको अन्तरमा कोरोनाबाट निको हुने दर १४ प्रतिशतले बढेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा हालसम्म कोरोनाका कुल संक्रमितमध्ये ६८.५ प्रतिशत निको भइसकेका छन्।
यस अनुसार २३ भदौसम्ममा मुलुकमा कोरोनाबाट ३२९६४ जना व्यक्ति निको भएका छन्। निको भएका ३२९६४ मध्ये पछिल्लो २४ घण्टामा मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै २२८७ जना छन्।
मुलुकमा कोरोनाबाट निको भएका व्यक्तिहरूको संख्या बढेसँगै सक्रिय संक्रमितको दर भने घटिरहेको छ। हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमित १४८६८ जना छन्, जुन् ३०.९ प्रतिशत हो।
यसअघि १६ भदौमा सक्रिय संक्रमितको संख्या १८११२ जना थियो, जुन ४४.७ प्रतिशत हो। १६ भदौमै मुलुकमा कोरोनाबाट निको हुने दर ५४.७ प्रतिशत थियो। यस अनुसार त्यतिबेलासम्म संक्रमित २२१७८ व्यक्ति निको भएका थिए।
१६ भदौपछि मुलुकमा कोरोनाबाट निको हुने दर बढ्दै गइरहेको देखिन्छ। १८ भदौसम्म निको हुने दर ५६.५ प्रतिशत थियो भने २० भदौमा यो दर ५९.९ प्रतिशत र २१ भदौमा ६२.६ प्रतिशत पुग्यो।
यसरी १६ भदौदेखि २३ भदौसम्मको निको हुने दरको तुलना गर्दा एक हप्ताकोे अन्तरमा १४ प्रतिशतले बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार निको हुने दर बढेसँगै मुलुकका ६ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्य शून्य पुगेको छ। हाल ताप्लेजुङ, मनाङ, मुुस्ताङ, मुगु, डोल्पा र हुम्ला गरी ६ जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य छ।