कांग्रेस हिन्दूराष्ट्रको पक्षमा छैन : उपसभापति निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताए ।
पार्टीकै महामन्त्रीले हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्छ भनेको विषयमा भने उपसभापति निधिले आफूलाई यसबारेमा कुनै जानकारी नभएको बताए । “पार्टी हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा छैन”, उनले भने ।
राजतन्त्रको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने “नेपालमा राजतन्त्र आउँछ भन्ने कसैले दिवा सपना देख्छ भने पनि यो भ्रममा हाम्रो भन्नु केही छैन ।”
उपसभापति निधिले आजदेखि शुरु भएको लगानी सम्मेलन सफल पार्नुपर्ने बताए । “नेपालमा लगानीकर्ता आउन् र समृद्धिका विभिन्न योजनामा स्वदेशी तथा विदेशीले लगानी गरुन् भन्ने हाम्रो चाहना हो तर सरकारले जुन किसिमको गृहकार्य गर्नुपर्ने हो त्यो हुन नसकेको छैन ”, उनले भने ।
पार्टीलाई सङ्गठित बनाएर लैजान आउँदो नयाँ वर्षसँगै राष्ट्रिय जागरण अभियान शुरु गरिने जानकारी दिँदै उपसभापति निधिले अनुशासन समितिले आफ्नो काम प्रारम्भ गरिरहेको र विधानबमोजिम नै सो समितिले आफ्नो अधिकार प्रयोग गर्ने बताए ।