चितवन राष्टिय निकुञ्जमा एउटा गैंडा मृत भेटियो
चितवन राष्टिय निकुञ्जमा एक गैंडा मृत अवस्थामा भेटिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जभित्र पश्चिम चितवनको लौखानी पोष्ट नजिक रातोपानी घोल क्षेत्रमा उक्त गैंडा २१ भदौमा मृत अवस्थामा भेटिएको थियो। तर, निकुञ्ज कार्यालयले भने उक्त घटनालाई आज मात्र सार्वजनिक गरेको हो।
मृतक गैंडाको टाउकोमा दुईवटा गोली लागेको पाइएकाले त्यस बारे अनुसन्धान भइरहेको प्रमुख संरक्षण अधिकृत बरालले बताए। गैंडाको खाग र खुर भने सुरक्षित छ। शिकारीले गैंडा मारेको हुनसक्ने आशंका गरिएको छ।
यसअघि ७ भदौमा पनि चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी छेउको घोलमा गडेर एउटा गैंडा मरेको थियो।गत आर्थिक वर्ष निकुञ्ज क्षेत्रमा २६ गैंडा प्राकृतिक कारणले मरेका थिए।