बालिका बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा एक पक्राउ, तीनजना फरार
कञ्चनपुरमा एक १६ वर्षीया बालिकालाई बन्धक बनाए सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बालिकाले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।
पाँच दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता गरेकि हुन्।
जिल्लाको बेल्डाँडी गाउँपालिका ५ स्थित मामा घरमा बस्दै आइरहेकी बालिका यहि १४ भदौदेखि बेपत्ता भएको भन्दै परिवारले खोजीनिति गर्न इलाका कार्यालय बेल्डाँडीमै निवेदन दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।
उनका अनुसार बालिकाको मामाले भाञ्जी हराएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए प्रहरीले बालिकालाई १९ भदौमा फेला पारी मामाको जिम्मा लगाएको थिए।
त्यो दिन पीडित बालिका केही नबोलेको कारण प्रहरीले परिवारको जिम्मा लगाएको र पछि बालिकाले आफूमाथि सामुहिक बलात्कार भएको भन्दै ४ जनाको नाममा प्रहरी कार्यालयमा उजुरी दिएकी छन्।
उजुरीमा बालिकालाई ५ दिनसम्म लागू औषध खुवाएर बन्धक बनाई बलात्कार गरेको उल्लेख छ।
प्रहरी नायव उपरीक्षक थापाले घटनामा संलग्न एक जनालाई पक्राउ गरिसकेको र थप ३ जनालाई खोजतलास गरिरहेको बताए। उनले घटना अनुसन्धानकै क्रममा रहेको बताउँदै दोषीलाई कानूनी प्रक्रिया अनुसार अगाडि बढाउने बताए।