ऋण लिएर घर र गाडी किन्दा अब ब्याजदर परिवर्तन नहुने
ब्यांक तथा वित्तीय संस्थाका ऋणीहरुको सधैं गुनासो हुन्छ, ऋण लिँदा ब्याजदर एउटा तोकिएको हुन्छ, तर ब्यांकले बिस्तारै ब्याजदर बढाउँदै लैजान्छन्। ऋण लिने बेलाको भन्दा ब्याजदर बढाउँदै लगेपछि किस्ता तिर्ने बेला मध्यम वर्गलाई सधै सकस पर्छ।
तर, राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाको यस्तो खेललाई रोक लगाइदिएको छ। मंगलबार ब्यांक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय ब्यांकले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गर्न निर्देशन दिएको हो।
यस प्रयोजनको लागि, ब्यांक तथा वित्तीय संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आबधिक कर्जाको ब्याजदर भुक्तानी अबधीभर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गर्नुपर्नेछ। तर, ग्राहक स्वयंले ब्यांकको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन पनि पाउनेछन्।
राष्ट्र ब्यांकले व्यक्तिको नाममा प्रवाह हुने एक वर्षभन्दा बढी समयका लागि लिइएका घर, गाडी लगायतका कर्जामा ब्याजदर स्थिर राख्न निर्देशन दिएको हो। यसअघि नै ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा पनि ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्त परिवर्तन गर्न पनि केन्द्रीय ब्यांकले निर्देशन दिएको छ।
यस्तो स्थिर ब्याजदर ब्यांक तथा वित्तीय संस्थाले अर्धवार्षिक रुपमा तोक्नुपर्नेछ।
यो व्यवस्था पछि ऋण लिँदा जति ब्याजदर तोकिएको हुन्छ, किस्ता तिर्ने बेला ब्यांकले ब्याजदर बढी तोक्न पाउँदैनन्। तर, यस्तो स्थिर ब्याजदर प्रचलित दरभन्दा केही महंगो भने हुनसक्छ।