समूहबाट मिलेको सफलता : फेरिँदैछ दैनिकी, बढ्दैछ आत्मसम्मान
महिला सशक्तिकरणका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले बनाएका समूहमा आवद्ध भएर कैलालीको कैलारी गाउँपालिकाका विपन्न महिला आर्थिक उपार्जनतर्फ लागेका छन्। आर्थिक सशक्तिकरणसँगै उनीहरूले पारिवारिक विग्रहबाट पनि मुक्ति पाउँदैछन्।
काम गर्ने दौरान बाधा अड्चन आउँछन्। तर, अप्ठ्याराहरूसँग पछि हटेर होइन, डटेर काम गर्न सके सफलता टाढा छैन भन्ने उदाहरण हुन्, माया चौधरी।
कैलालीको कैलारी गाउँपालिका-१ मनाउमा कुखुरा फार्म खोलेर गाउँमै उदाहरण बनेकी मायालाई पनि लागेको थिएन उनी आज यो ठाउँमा हुन्छिन्। तर, समस्यासँग नडराउने, बरु मिहिनेतलाई जारी राख्ने स्वभावले आज उनी सफलता नजिक छिन्। अब भने उनलाई लागिरहेको छ, आफ्नो काममा एकदिन उनी पूर्ण सफल हुन्छिन्। अभावकाबीच जसोतसो चलिरहेको उनको दैनिकी फेरिनेछ। पारिवारिक जीवनस्तर उकासिनेछ। र, फेरिनेछ आर्थिक अवस्था पनि।
गरिबीका कारण पेट पाल्नै समस्या हुँदा सानैमा फुपुको घरमा कमलरी बसेकी मायाको बाल्यकाल अरुका जुठा भाँडा माझेरै बित्यो। आमाबुवासँग बसेर पाउनुपर्ने माया, रेखदेख र स्वतन्त्रताबाट बञ्चित भइन् उनी। तर पनि कमलरी बसेको घरमा विद्यालय जाने अवसर दिएका कारण उनको जीवन अन्धकार हुन पाएन। दुःखकाबीच पनि पढाइलाई निरन्तरता दिएका कारण उनी आज सानै भएपनि व्यवसाय गर्ने हिम्मत जुटाइरहेकी छन्। निर्धक्कसँग बोल्न सक्छिन्। अरुसँग व्यावसायिक सम्झौता गर्न डराउँदिनन्।
कक्षा १२ पढेपछि २० वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएकी उनका श्रीमानलाई परिवारले वैदेशिक रोजगारीका लागि कतार पठाए। तर, तीन वर्ष अर्काको देशमा पसिना बगाउँदा पनि जानेबेलाको ऋण तिर्नुबाहेक प्रगति भएन।
“नमूना महिला समूहबाट ऋण लिएर ४०० कुखुरा हालें। पहिलो पटकमै ३०/३५ हजार आम्दानी भयो। विस्तारै कुखुरा थप्दै गएँ। एकैपटक ८०० देखि एक हजारसम्म पुर्याएँ। वर्षमा ५/६ पटकसम्म कुखुरा हाल्न थालें। कुनै ‘लटमा’ डेढ लाखसम्म पनि आम्दानी भयो।” -माया चौधरी
घर फर्केको केही महीनामै श्रीमान फेरि डेढ लाख रूपैयाँ खर्च गरेर कुवेत गए। तर, मेनपावरले ठगेका कारण ज्यान जोगाउनै मुस्किल भयो। २ लाख ५० हजार खर्च गरेर श्रीमान घर फर्के। संयुक्त परिवारमा श्रीमानको सबै असफलताको दोष मायामाथि थुपारियो। रातदिन कचकच शुरू भयो।
मायाले हिम्मत हारिनन्। श्रीमानलाई कामका लागि भारत पठाइन्। यता २०७४ मा दलित महिला अधिकार मञ्च नेपालले महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत गाउँमा ‘नमूना महिला समूह’ गठन गरिरहेको थियो। उनले त्यही समूहको सचिव भएर काम गर्ने अवसर पाइन्।
संस्थाले समूहमा आवद्ध न्यून आय भएका महिलाहरूलाई जीविकोपार्जन र नेतृत्व विकासमा सहयोग पुर्याउन २०/२० वटा कुखुराका चल्ला उपहार दियो। मायाले २० वटा चल्लामा ठूलो भविष्य देखिन्। राम्रोसँग पालनपोषण गरिन्, हुर्काइन् र बेचिन्। ती कुखुरा बेच्दा उनलाई १५ हजार आम्दानी भयो। त्यही पैसाबाट दुई वटा बाख्रा किनिन्। बाँकी पैसा समूहको कोषमा जम्मा गरिन्। तर, बाख्रा भने बाँचेनन्।
यसैबेला २०७५ सालमा ८ हजार रूपैयाँ तिरेर उनी भेटनरी सम्बन्धी तीन दिने तालिममा सहभागी भइन्। त्यसको केही महीनामा दलित महिला अधिकार मञ्चले फेरि व्यापार व्यवसाय कसरी गर्ने भन्नेबारे पाँच दिने तालिम सञ्चालन गर्यो। त्यो तालिममा माया पनि सहभागी भइन्। सहभागीलाई व्यवसाय शुरू गर्न १५/१५ हजार रूपैयाँ दियो। त्यही रकमबाट उनले कुखुरा पालनको लागि खोर निर्माण गरिन्।
मायाले नमूना महिला समूहबाट ऋण लिएर ४०० कुखुरा हालिन्। पहिलो पटकमै ३०/३५ हजार आम्दानी भयो। विस्तारै कुखुरा थप्दै गइन्। एकैपटक ८०० देखि एक हजारसम्म पुर्याइन्। वर्षमा ५/६ पटकसम्म कुखुरा हाल्न थालिन्। कुनै कुनै चरणमा डेढ लाखसम्म पनि आम्दानी हुन थाल्यो।
यतिबेला कोरोना महामारीले उनको व्यापारमा पनि असर पुर्याएको छ। तर, उनले हार मानेकी छैनन्। यो समस्या समाधान भए फेरि यही व्यवसायलाई निरन्तरता दिने साेंचमा छिन् उनी। भन्छिन्, “समस्या मलाई मात्रै भएको छैन। संसारलाई यस्तै छ। यो समस्या समाधान भए फेरि राम्रो व्यवसाय गर्ने योजना छ। म सफल हुन्छु भन्ने विश्वास पनि छ।”
कैलारी गाउँपालिका-२ की बसन्ती कोली चौधरीले १४ वर्षकै उमेरमा कृष्ण चौधरीसँग भागी बिहे गरिन्। विवाहका मूल्य-मान्यता नबुझ्दै वैवाहिक जीवनमा बाँधिएकी उनलाई लागेको थियो, श्रीमानले बिहेपछि बिहेअघिको भन्दा धेरै माया गर्छन्, रेखदेख गर्छन् र सुख दिन्छन्।
तर, भइदियो उल्टो। श्रीमान परे जँड्याहा। रातदिन जाँड खाने, काम केही नगर्ने श्रीमानको कचकच र पारिवारिक भारले उनलाई चिन्तामाथि चिन्ता थप्दै गयो।
“समूहबाट ऋण लिएर नास्ता पसल शुरू गरें। त्यसैबाट छोराछोरीको किताब कापीसँगै घर खर्च पनि मज्जाले चल्न थाल्यो। दिनमा हजार/पन्ध सय जतिको नास्ता बिक्री हुँदा सबै खर्च कटाएर मासिक ३३०० रूपैयाँ बचत पनि गर्न थालें। घरमा के खाने, के लाउने भन्ने समस्या टर्दै गयो।” -बसन्ती कोली चौधरी
अहिले पनि उनका श्रीमान रोजगारीको सिलसिलामा प्रायः भारतमै हुन्छन्। तर, पैसा भने सुको पठाउँदैनन्। बसन्तीका अुनसार कमाएको सबै पैसा उनैलाई जाँडरक्सी खान पुग्दैन। एक छोरा र दुई छोरी छन्। आर्थिक अवस्था कमजोर छ। छोराछोरीलाई पढाउनकै लागि पनि आम्दानी हुने केही काम गर्नु पर्ने बाध्यता आयो उनलाई।
२०७४ सालमा चेतना महिला समूहको उपाध्यक्ष भएर काम गर्न थालेपछि उनले महिला विकास, नेतृत्व र व्यवसायबारे केही सिक्ने अवसर पाएकी थिइन्। त्यही क्रममा दलित महिला अधिकार मञ्चले व्यापार शुरू गर्न १५ हजार रूपैयाँ र मुक्त कमैया महिला विकास मञ्चले ग्यास, चुलो, भाँडाकुडा, मिक्स्चर लगायतको सामग्री सहयोग गर्यो।
यो सहयोगबाट उनले नास्ता पसल शुरू गरिन्। त्यसैबाट छोराछोरीको किताब कापीसँगै घर खर्च पनि मज्जाले चल्न थाल्यो। दिनमा हजार/पन्ध सय जतिको नास्ता बिक्री हुँदा सबै खर्च कटाएर मासिक तीन हजार ३०० रूपैयाँ बचत पनि गर्न थालिन्। घरमा के खाने, के लाउने भन्ने समस्या टर्दै गयो। यसले बसन्ती र छोराछोरीको मुहारमा थोरै खुशी छायो।
बसन्ती अब यो कोरोना समस्या हट्नेबित्तिकै समूहबाट ऋण लिएर व्यवसाय बढाउने सोंचमा छिन्। आफूले जानेको सीप सदुपयोग गर्दै आम्दानी बढेपछि उनले आफ्नो दुःख घटेको महसुस गरिरहेकी छन्। र, समूहमार्फत् अरु महिलाहरूलाई पनि आम्दानी हुने काम गर्न प्रेरणा र प्रोत्साहन दिने गरेकी छन्।
फर्किएको आत्मसम्मान
कैलारी गाउँपालिका-४ का सपना सिकेले पनि ९ कक्षा पढ्दै गर्दा विवाह गरिन्। संयुक्त परिवारमा विवाहित बुहारीले पढ्न पाउनु सपना जस्तै थियो। अझ त्यसैमा १८ वर्षमै बच्चा जन्मेपछि पढाइमै ‘ब्रेक’ लाग्यो। कक्षा १० पनि पास गर्न पाइनन्।
दुई/चार पैसा आउने ठाउँ कतै थिएन। अनि कामको खोजीमा श्रीमान भारत गए। परिवारले सहयोग गर्नुको सट्टा निकै दुःख दिइरहेको थियो। २०७४ सालमा गाउँकै महिलाहरूबाट उज्यालो महिला समूहमा आवद्ध हुने मौका पाइन्। बैठक, तालिम, गोष्ठीमा सहभागी हुन थालिन्। जसले गर्दा अब आफैं केही गर्नुपर्छ भन्ने सोंच जाग्यो।
घर नजिकै सानो टहरा निर्माण गरेर ११ हजारको सामान हालिन् र चटपटे बेच्न थालिन्। त्यही क्रममा दलित महिला अधिकार मञ्चले व्यापार व्यवसाय गर्न चाहने न्यून आयका महिलाको लागि ७ हजार सहयोग गर्यो। त्यही रकमले पानीपुरी, चाउचाउ, चाउमिन लगायतका नास्ता बनाउन शुरू गरिन्।
उनको मिहिनेत देखेर संस्थाले फेरि व्यवसाय बढाउनका लागि १५ हजार रूपैयाँ सहयोग गर्यो। त्यो रकमले उनले ग्यास चुलो, भाडाकुडा, स्टेशनरीका सामान पनि थपिन्। दैनिक ५/७ सय रूपैयाँ आम्दानी हुन थाल्यो।सपनासँग एक कठ्ठा ऐलानी जमिन छ। छेउमै विद्यालय भएकोले पसल राम्रो चलिरहेको थियो। तर, अहिले कोरोनाका कारण विद्यालय बन्द हुँदा पसल पनि राम्ररी चल्न सकेको छैन। अब विद्यालय खुल्नेबित्तिकै समूहबाट ऋण लिएर पसल ठूलो बनाउने सोंच बनाइरहेको उनले सुनाइन्।
सानै भए पनि पसल खोलेर अलिअलि आम्दानी हुन थालेपछि आफूलाई हेर्ने परिवारको नजर पनि परिवर्तन हुँदै गएको अनुभव सपनाको छ। उनले भनिन्, “आर्थिक रूपमा सम्पन्न हुँदा अरुको हेलाँहोचो पनि कम हुने रहेछ। मैले छोटो समयमै यो महसुस गरें।”
दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरे महिलाहरूलाई आर्थिक सशक्तिकरणसँगै दीगो जीविकोपार्जनको लागि स्थानीय सरकारसँगको समन्वय तथा सहकार्यमा काम गरिरहेको बताउँछिन्। आर्थिक रूपमा विपन्न, हिंसापीडित, न्यायको पहुँचमा नरहेका महिलालाई थोरै थोरै आर्थिक सहयोग गर्दै उनीहरूको आयश्रोत र क्षमता विकास गरिरहेको घिमिरेले बताइन्। घिमिरे भन्छिन्, “हामीले थोरै ठानेको रकम र सहयोग केही र कोही नहुनेका लागि ठूलो हुनेरहेछ। उहाँहरूको मिहिनेत र लगाव देख्दा हामी खुशी छौं।”