लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ
प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
ना ३ ख ९८९ नम्बरको कन्टेनरमा अवैध लागूऔषध ओसारपसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोबार गर्ने गरेको भन्ने सूचनापछि पुगेको महानगरीय अपराध महाशाखा र भक्तपुर प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ का ३६ वर्षीय विष्णु प्रधान, सोही ठाउँका ३७ वर्षीय डम्बरबहादुर प्रधान र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का ३२ वर्षीय शंकर खड्का छन्।
प्रधानद्वयलाई सल्लाघारीस्थित् अरनिको राजमार्गको दक्षिणतर्फको किनारामा ना ३ ख ९८९ नम्बरको कन्टेनर रोकिराखेको अवस्थामा विभिन्न प्रकारको ११ हजार ८०० एम्पुल लागूऔषधसहित पक्राउ गरिएको अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
कन्टेनरको चालकको सिटमुनि रहेको जेब्रा झोला एक थान र चालकको सँगैको सिटमुनि रहेको अर्को एउटा जेब्रा झोलामा लुकाइरहेको अवस्थामा उक्त लागूऔषध बरामद गरिएको एसपी कार्कीले बताए।
खड्का पनि लागूऔषध कारोबारमा संलग्न रहेको भन्ने प्रधानद्वयको बयानका आधारमा खड्कालाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको अपराध महाशाखाले जनाएको छ।