कोभिड-१९ सिर्जित मनोसामाजिक समस्या सम्बोधनको योजना बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ का कारण सिर्जित मनेसामाजिक समस्याको सम्बोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी एवं निजी क्षेत्रका निकायलाई सक्रिय हुन निर्देशन दिएका छन्।
मनोचिकित्सकहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित परामर्श र छलफलका क्रममा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माण गर्न मनोचिकित्सकहरूको विशेष योगदान हुने भन्दै यसमा लाग्न आग्रह गरे।
कोभिड-१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउन आवश्यक रहेको प्रधानमन्त्रीले बताएका उनका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन्। “यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ”, प्रधानमन्त्रीको भनाई उदृत गर्दै थापाले भनेका छन्।
छलफलमा डा. सुदर्शननरसिंह प्रधान, डा. पशुपति महत, डा. सरोजप्रसाद ओझा, डा. दिव्यासिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेल लगायतले यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गरेका थिए।