‘कोरोना प्रोटोकल’ तोडेपछि ग्रीनउड र फोडेन राष्ट्रिय टोलीबाट हटाइए
अन्तर्राष्ट्रिय फूटबल, त्यसमा पनि इंग्ल्याण्डको जर्सी लगाएर खेल्नु। इंग्ल्याण्डमा फूटबल खेल्ने प्रत्येकले देख्ने यो सपना युवा फुटबलरद्वय मेसन ग्रीनउड र फिल फोडेनले चाँडै पूरा गरे।
म्यानचेस्टर युनाइटेडका ग्रीनउडन र युनाइटेडकै शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीबाट व्यावसायिक फूटबल खेलिरहेका फोडेनले क्लबमा राम्रो प्रदर्शन गरेकै कारण राष्ट्रिय टोलीमा स्थान पाए। खेलबाट प्रशिक्षक गारेथ साउथगेटको मन जितेपछि उनीहरूले शनिबार भएको यूईएफए नेसन्स लिगअन्तर्गत् आइसल्याण्डविरुद्धको खेलमा इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट डेब्यू गरे।
खेल इंग्ल्याण्डले १-० गोल अन्तरले जित्यो।
तर, ग्रीनउड र फोडेनका लागि त्यो दिन जति ऐतिहासिक थियो, त्यही रात चाहिँ उति नै बिर्सनलायक पनि बनेको छ। किनभने त्यही रात आफूले गरेको हर्कतकै कारण उनीहरू दुवैजना राष्ट्रिय टोलीबाट हटाइएका छन्।
इंग्ल्याण्डका प्रशिक्षक साउथगेटले उनीहरू दुवैजनाले कोरोनाभाइरस प्रोटोकल उल्लंघन गरेकाले टोलीबाट अहिलेलाई हटाइएको बताएका छन्।
बेलायती सञ्चारमाध्यमहरुका अनुसार त्यो रात उनीहरूले होटलमा ‘केटी ल्याएका’ थिए। उनीहरूको त्यो हर्कतले आफूसँगै टीमका अरु सदस्य, प्रशिक्षक र अफिसियलहरूलाई समेत जोखिममा पार्न सक्ने भन्दै टोलीबाट हटाइएको हो। प्रशिक्षक साउथगेटले उनीहरू अब हुने डेनमार्कविरुद्धको खेलमा टोलीमा नहुने प्रष्ट पारिसकेका छन्।
यो घटनापछि उनीहरू दुवैलाई अलग-अलग इंग्ल्याण्ड फिर्ता पठाइएको छ। फोडेनले आफूले गम्भीर गल्ती गरेको स्वीकार्दै माफीसमेत मागेको गोल डटकमले उल्लेख गरेको छ।