पुजारी हत्या : परिवार भन्छ- लेनदेनको विवाद थिएन
रौतहटको माधवनारायण नगरपालिका-२ खेसरहियाको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा लेनदेनको विवाद नरहेको पुजारीका परिवारले दाबी गरेका छन्। कसैसँग लेनदेनको विवाद नरहेकोले घटनाको निष्पक्ष छानबिन गर्न उनीहरूले प्रहरीसँग माग गरेका छन्।
३ भदौ राति खाना खाइरहेका पुजारीको कञ्चटमा गोली हानेर हत्या गरिएको थियो। गोली लागेर घटनास्थलमै मृत्यु भएका पुजारीको हत्याको आरोपमा प्रहरीले रामनरेश पटेल र बालकुमार पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
अदालतबाट म्याद थप गरेर अनुसन्धानको क्रममा रहेका दुवै अभियुक्तले पुजारीको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको दाबी छ। अभियुक्तहरूले लेनदेनको विवाद रहेकोले हत्या गरेको बयान दिएको प्रदेश-२ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले बताए।
डीआईजी सिंहले पुजारीका भाइ लालबहादुर साहले अभियुक्त रामनरेश पटेलका बुवासित पुजारीले तीन लाख रूपैयाँ लिनुपर्ने विवाद रहेको भनी प्रहरीलाई लिखित जाहेरी दिएको बताएका छन्। तर, पुजारीका भाइ लालबहादुरले भने लेनदेनको विवाद आफूलाई थाहा नभएको बताएका छन्।
प्रहरीको अनुसन्धानमा रहेका रामनरेश पटेलका बुवा तुलसी राउत र अर्का आरोपी बालकुमार पटेलका बुवा जवाहिर राउतले पनि पुजारीसित छोराहरूको लेनदेनको कुनै विवाद नरहेको बताएका छन्।
पुजारीको हत्या गरिएको ठाउँमा मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह तथा माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारीले संयुक्तरूपमा मन्दिरको शिलान्यास गरेका छन्।
सोही ठाउँ नजिकै प्रहरी चौकी बनाउनका लागि प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संयुक्तरूपमा शिलान्यास गरिसकेका छन्।