मल किन्न बिहान ४ बजेदेखि नै लाइन बस्छन् किसान
युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरू मर्कामा परेका छन्। धानबालीमा मल हाल्ने समय हुदाँ समेत बजारमा मल नपाउँदा किसानहरू मर्कामा परेका हुन्।
कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरू मल लिन बिहानैदेखि लाइनमा बस्ने गरेका छन्। कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको चितवनमा किसानहरूलाई आफ्नो स्वास्थ्यको भन्दा मल पाउने/नपाउने चिन्ताले सताएको छ।
मल लिनका लागि बिहान ४ बजेदेखि नै लाइनमा बसेका विकास कोइरालाले महामारीको चुनौतीका बावजुद पनि मलका लागि बिहानैदेखि लाइन बस्नुपरेको बताए।
गत वर्षहरूमा भदौ महीनामा मात्रै एक हजार मेट्रिक टन मल बिक्री भएकोमा यो वर्ष अभावका कारण ४२६ मेट्रिक टन मात्रै बिक्री गर्न सकिएको साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले बताए। अहिले चितवनमा कृषि ज्ञान केन्द्रको सिफारिसमा मल बिक्री भइरहेको छ। यो वर्ष किसानले पर्याप्त मल प्राप्त गर्न नसकेको दाहाल बताउँछन्।
चितवनमा कुल मागको ३० प्रतिशत साल्ट्र ट्रेडिङ र ७० प्रतिशत कृषि सााग्री कम्पनीमार्फत आपूर्ति तथा बिक्री वितरण हुने गरेको छ। साल्ट्र ट्रेडिङले मल ल्याएर बिक्री गरेतापनि कृषि सामग्री कम्पनीले मल ल्याउन नसक्दा अभाव भएको हो।
मल अभाव चितवनमा मात्रै नभएर देशभरी नै देखिएको छ। कोरोना महामारीको बाहानामा देशभरी मल अभाव हुँदा किसानहरू मर्कामा परेका छन्।
सरकारले केहीदिन पहिले बाङ्लालादेशसँग ५० हजार मेट्रिक टन युरिया मल पैंचो मागेको छ। युरिया मलको हाहाकार भएपछि सरकारले बाङ्लादेशसँग पैंचो मागेतापनि मल कहिले आइपुग्ने भन्ने टुंगो छैन।