भारत-चीन सीमामा ४५ वर्षपछि चल्यो गोली, भारतीय सेनाले पहिला गोली चलाएको आरोप
लद्दाखस्थित भारत-चीन सीमामा पर्ने पेङगोङ तालको दक्षिण किनारमा दुवै देशका सेनाबीच गोली हानाहान भएको छ। ४५ वर्षपछि भारत-चीन सीमामा गोली चलेको हो।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले भारतीय सेनाले सीमा रेखा लाइन अफ कन्ट्रोल (एलएसी) नाघेर उल्टै गोली चलाएको जनाएको छ। त्यसपछि आफूहरुले प्रतिवाद गरेको चिनियाँ सेनाका प्रवक्ताले जनाएको ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ।
चिनियाँ सेनाका अनुसार भारतीय सेना शेनपाओमा एलएसी पार गरेको थियो। त्यहीँ पुगेको चिनियाँ सेनाको गस्ती टोली भारतीय सैनिकसँग कुराकानीका लागि अघि बढ्दा उनीहरुले गोली चलाएका हुन्। तर, कुनै क्षति भएको उल्लेख छैन। यसबारे भारतले औपचारिक प्रतिक्रिया जनाएको छैन।
भारतस्थित चिनियाँ दूतावासले १ सेप्टेम्बरमा पनि भारतीय सैनिकले पेङगोङ तालको दक्षिण किनारामा एलएसी पार गरेको आरोप लगाएको थियो। चिनियाँ सेनाको पश्चिम क्षेत्र कमाण्डका प्रवक्ता कर्णेल झाङ शुइलीले भारतलाई आफ्ना सैनिक नियन्त्रणमा राख्न चेतावनी दिएका थिए।
योभन्दा पहिला ४५ वर्षअघि भारत-चीन सीमामा गोली चलेको थियो। २० अक्टोबर १९७५ मा अरुणाचल प्रदेशको तुलुङ लामा चीनले असम राइफलको गस्ती टोलीमाथि आक्रमण गरेको थियो। उक्त आक्रमणमा चार भारतीय सैनिक मारिएका थिए।
त्यही वर्ष जुनमा गलवानमा दुई देशबीच झडप भएको थियो। उक्त झडपमा पनि २० भारतीय सैनिक मारिएका थिए।
गएको १५ जुनमा दुवै देशको सीमा गलवान घाँटीमा भिडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए। तर, त्यहाँ गोली चलेको थिएन। त्यसपछि दुई देशका सैनिकबीच पटपटक वार्ता भएको थियो। वार्तामा सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भए पनि पुनः तनाव सुरु भएको छ।
-एजेन्सीहरुको सहयोगमा