दुई शिक्षकमाथि छात्रालाई बलात्कार गरेको आरोप, बच्चा जन्मेपछि घटना सार्वजनिक
बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ। अन्तै बिहे गरीकी उनले ६ महीनामा नै बच्चा जन्माएपछि बलत्कारको रहस्य खुलेको हो।
जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरीले बलात्करपछि अर्कैसँग भागेर बिहे गरेकी थिइन्।
सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको छ।
केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ। तीनै जनाले ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले जनाएका छन्।
छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिले बलात्कार गरेको बताएको एक आफन्तले जानकारी दिए। उनले भने, “घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे। अहिले कुरा बाहिर आएको छ।”
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको जानकारी दिए। किशोरीसँगको बयानपछि मात्रै घटनाबारे थाहा हुने उनको भनाइ छ। उनले भने, “सुरक्षाका लागि पनि किशोरीलाई हामी जिल्लामा ल्याउने तयारी गरेका छौँ। संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ।”
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ। कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुन्छ।