भारतमा कोरोना संक्रमणबाट लगातार सात दिन एक हजारभन्दा बढीको मृत्यु
अमेरिका र ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या नियन्त्रणमा आइरहँदा भारतमा भने झनै बढ्न थालेको छ। त्यहाँ लगातार सात दिन एक हजारभन्दा बढीको मृत्यु भएको छ।
भारतमा १ सेप्टेम्बरमा एक हजार २५ जनाको मृत्यु भएको थियो। त्यस यता सात दिनमा सात हजार ३८१ जनाको मृत्यु भएको छ। पछिल्लो सात दिनमध्ये हिजो सबैभन्दा धेरैको मृत्यु भएको छ।
हिजो भारतमा एक हजार १२९ जनाको मृत्यु भयो। यही अवधिमा अमेरिकामा २८६ र ब्राजिलमा ३१५ जनाको मृत्यु भयो।
गएको २४ घन्टामा सबैभन्दा बढी संक्रमित पनि भारतमा नै भेटिएका छन्। त्यहाँ हिजो ७५ हजार २२ जना नयाँ संक्रमित भेटिए। जबकि अमेरिकामा २५ हजार ३१७ र ब्राजिलमा १० हजार १८८ नयाँ संक्रमित भेटिएका छन्।
अघिल्लो दिन आइतबार भारतमा एक हजार आठ जनाको मृत्यु भएको थियो। आइतबार नै अमेरिकामा ४३० र ब्राजिलमा ४५६ जनाको मृत्यु भएको थियो।
त्यही दिन भारतमा ९१ हजार ७२३ नयाँ संक्रमित थपिएका थिए। कुनै पनि देशमा एकै दिन भेटिएका संक्रमितको यो अहिलेसम्मकै ठूलो संख्या हो। त्यही दिन अमेरिकामा ३१ हजार र ब्राजिलमा १४ हजार नयाँ संक्रमित थपिएका थिए।
भारतमा संक्रमितको संख्या ४२ लाख ७७ हजार पुगेको छ। तीमध्ये ३३ लाख २१ हजार निको भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ।
सक्रिय संक्रमित आठ लाख ८३ हजार ३४८ छ। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।