काठमाडौं महानगरपालिकामा सक्रिय संक्रमित २३ सय नाघे, आधा होम आइसोसनमा (सूचीसहित)
काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा कोरोना सक्रिय संक्रमितको कुल संख्या २,३३८ जना पुगेको छ। सक्रिय संक्रमितमध्ये आधा संक्रमितहरू होम आइसोलेसनमा रहेका छन्।
महानगरको २० भदौसम्मको तथ्यांक अनुसार महानगरका १,१६० जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ११७८ जना अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेका छन्। महानगरमा हालसम्म २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अहिले देशभरीका जिल्लामध्ये सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौं जिल्लामा छन्। त्यसमध्ये पनि अधिकांश काठमाडौं महानगरपालिकामा छन्। महानगरमा मात्रै कुल संक्रमितको संख्या ३,२१३ पुगेको छ।
निको भएको संख्या ८५१ मात्रै छ। महानगरमा १५ साउनपछि संक्रमित बढ्ने क्रम तिब्र हुँदा संक्रिय संक्रमितको संख्या धेरै भएको महानगरले जनाएको छ।
अहिलेसम्म १४ वटा वडामा संक्रमितको संख्या १०० नाघेको छ। महानगरको २० भदौसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित हुने क्षेत्रहरूमध्ये स्वयम्भु क्षेत्रमा ३१५, बालाजु क्षेत्रमा २६७, कोटेश्वर क्षेत्रमा २४४, महाराजगञ्ज क्षेत्रमा २२९, त्रिपुरेश्वर क्षेत्रमा १९३, इनबहाल क्षेत्रमा १८६ र कलंकी क्षेत्रमा १८५ जना संक्रमित छन्।
महानगरको वडागत विवरण आजको आजै छुट्टयाउन नसकेको पाइएको छ। महानगरका कोभिड फोकल पर्सन ज्ञान बहादुर ओलीले जिल्ला स्वास्थ्य कार्यालयबाटै महानगरको आजका संक्रमितको तथ्यांक भोलिपल्ट मात्रै आउने गरेकाले वडागत विवरण तयार गर्न समय लाग्ने गरेको बताए।