बारामा पनि कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो
प्रदेश–२ को बारा जिल्लामा पनि कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। हरेक दिन निरन्तर बढिरहेको तर पछिल्ला केही दिनदेखि घट्दो क्रममा रहेको कोरोना संक्रमितको कुल संख्या जिल्लामा १०८६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ।
संक्रमितमध्ये आधाभन्दा बढी कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किसकेका छन्। जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले आइतबार साँझसम्म बारा जिल्लाका कोरोना संक्रमितमध्ये ६९२ जना घर फर्किसकेका छन्। बारामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १७ पुगेको यादवले जानकारी गराएका छन्।
बारा जिल्लामा आइसोलेसनमा ३७७ जना रहेका छन्। संक्रमितमध्ये २९२ जना होम आइसोलेसनमा र ८५ जना व्यवस्थित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताएका छन्।
समुदायस्तरमा नै फैलिएको कोरोना संक्रमण एक महिना लामो निषेधाज्ञापछि केही कम हुँदै गएको देखिएको छ। जिल्लामा कोरोनाको जोखिम कम नभएकोले सबैलाई पर्याप्त सतर्कता र सावधानी अपनाउन स्वास्थ्य प्रमुख यादवले आग्रह गरेका छन्।