महाधिवेशन लागेपछि कांग्रेसमा चर्कियो विवाद, सभापतिविरुद्ध अनसन बस्नेसम्मको तयारीमा पौडेलपक्ष
पार्टीको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ। सभापति शेरबहादुर देउवाले आफुखुसी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन्। महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरूको आरोप छ।
रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरूले सभापतिले आफ्ना निर्णय नसच्याए धर्ना दिनेदेखि लिएर आमरण अनसन बस्ने सम्मको चेतावनी दिएका छन्।
कांग्रेस महामन्त्री शशांक कोइरालाले सभापतिले विधान विपरित गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाएका छन्। पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उनको भनाइ छ।
सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्ने गरी विभाग विस्तार गर्ने काम भएको उनले बताए। “उहाँले मनोमानी गर्नुभयो। सभापतिले गरेका कामहरूको विरोध त गरिसकेका छौँ, उहाँ कुरा सुन्नुहुन्न”, उनले भने, “महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुप¥यो, अरू विकल्प छैन।”
उनले पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति सभापति भएपनि देउवाको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न उठेको बताए।
हाल गठन र विस्तार भइरहेका विभागका विषयमा प्रश्न उठाउँदै कोइरालाले भने, “यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो, भोटका लागि। भोली महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि। विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ, मनपरी गर्दै हुनुहुन्छ।”
सभापति देउवा विधानविपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणवद्ध आन्दोलनको तयारी गरेको छ। विधानविपरीत भनिएका पछिल्ला निर्णयहरू फिर्ताका लागि सभापति देउवालाई दबाव दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमुलक कार्यक्रम गर्ने तयारीमा पौडेल समूह छ। कांग्रेसको विधानतः ४ वर्षको कार्यकाल सकिएर तदर्थ समितिमा रुपान्तरण भएपछि सभापति देउवाले संगठनल विस्तार गरेपछि इतर समूहको असन्तुष्टी चुलिएको हो।
सहमति नजुटेपछि पूर्णता दिन विभाग गठनः देउवा पक्ष
यता देउवा पक्षका नेताहरूले भने विभाग गठन र शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिने निर्णय स्वभाविक भएको दाबी गरेका छन्।
नेता मिन विश्वकर्माले सभापति देउवाले गरेका निर्णयको बचाउ गरे। उनले विधान अनुसार ६ महीनाभित्र नै पार्टीका विभाग लगायत सबै अंगहरूलाई विस्तार गर्ने प्रयास गरेपनि सहमति जुट्न नसकेको बताए। ‘‘सभापतिले सहमति गरौँ भन्दा सहमति पनि नहुने, सहमति नभएपछि निर्णय पनि नहुने, निर्णय नभएपछि पूर्णता कहिले नपाउने। जब पूणर््ता नै पाउँदैनन् सभापति कमजोर हुनुहुन्छ”, उनले भने, “कमजोर भएपछि १४ औं महाधिवेशनमा पराजित गर्न सहज हुन्छ भन्ने इतर पक्षका साथीहरुको सोचाई हो।”’
सभापतिले सर्वसम्मत निर्णय गरौं भनेर दबाव दिएपनि पौडेल पक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माले बताए।
“सर्वसम्मत निर्णय गरौं भन्दा सहमति पनि नदिने बहुमतबाट जान्छु भन्दा बहुमतले पार्टी डुबायो भन्ने। देउवाले प्रजातन्त्रको मर्ममाथि आक्रमण ग¥यो भन्ने साथीहरूले आफ्नो पद, व्यक्तित्व र पृष्ठभूमिलाई गिज्याएको देखिन्छ”, उनले भने, “नेतृत्वमा पुग्ने लक्ष्य राखेका, गौरबशाली इतिहास भएका साथीहरूले यस्तो टिप्पणी नगरेको नै राम्रो हुन्छ। र, सभापतिले महाधिवेशनको पूर्वसन्ध्यामा यस्ता टिप्पणीहरूलाई सहज रुपमा लिनुपर्छ।’’