कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो
नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ। कोरोना संक्रमण शुरू भएको ८ महीनाको अवधिमा ३०० जना संक्रमितको मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका तीनसहित ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३०० पुगेको छ।
काठमाडौंका ३७ वर्षीया, ८३ वर्षीया र ९० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै, मोरङका ७६ वर्षीय पुरुष, सिरहाका ६२ वर्षीय र ८७ वर्षीय पुरुष, सर्लाहीका ३७ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुषको पनि कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ।
मन्त्रालयका अनुसार मकवानपुरका ३९ वर्षीय पुरुष, कास्कीकी ६३ वर्षीया महिला र बाँकेका ५९ वर्षीय पुरुषको पनि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपालमा पहिलोपटक १ जेठमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो। काभ्रेको धुलिखेल अस्पतालतमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।