व्यवसायी भन्छन्- पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ
कोभिड-१९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चारदेखि पाँच वर्ष लाग्ने सरोकारवालाहरूले बताएका छन्। कोभिड संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरूको भनाइ छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज, २२ भदाैमा आयोजना गरेको सेजन अर्थ नीति बहस अन्तर्गत पर्यटनको सम्भावना विषयक भिडिओ कन्फ्रेन्समा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन्।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्र लगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए।
‘‘अब मास टुरिजममको समय गयो। पर्यटकका लागि अब त्यस्तो ठाउँको छनोट हुन्छ, जहाँ कुनै विशेष रूचिको आधारमा सेवा दिन सकिन्छ,’’ श्रेष्ठले भने। उनले पर्यटन क्षेत्रमा केही नयाँ आविस्कार गर्न सके पर्यटक भित्र्याउन सकिने धारणा राखे।
कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाइ छ। उनका अनुसार डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्ने हुन्छ। तर, निरन्तरता दिन पनि अनिश्चितताका कारण समस्या छ।
नेपालको पर्यटन क्षेत्रले पर्यटकका लागि के के दिन सक्छन् भन्ने निश्चित पनि गर्नुपर्ने भनाइ श्रेष्ठको छ। पर्यटन क्षेत्रलाई सन् २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्नुको विकल्प नभएको उनकाे भनाइ छ।
भूकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर, यसपालिको समस्या भने केही फरक भएकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन भने समय लाग्ने उनले बताए।
पर्यटकको स्वास्थ्य सुरक्षा तथा बीमाका विषयलाई समेटेर प्याकेज ल्याउन सकिने उनको सुझाव छ। त्यसका लागि सरकारले नै काम गर्नुपर्ने श्रेष्ठ बताउँछन्।
कोरोनाले पर्यटन क्षेत्रमा मात्रै नभई, स्वास्थ्य, अर्थतन्त्र र सामाजिक क्षेत्रमा पनि समस्या निम्त्याउन थालेको भन्दै त्यसका लागि सरकारले नीतिगत व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि राहत प्याकेज ल्याएको भएपनि कार्यान्वयन नहुँदा प्रभावकारी नभएको श्रेष्ठले बताए।
पर्यटन व्यवसायी तथा पर्यटन वर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेको बताए। शाक्यले भने ‘‘पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार/पाँच वर्ष लाग्न सक्छ। सन् २०२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न।’’
शाक्यका अनुसार पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी क्षेत्र दुवैको समन्वयको आवश्यकता पर्छ। यसका लागि पर्यटक भित्र्याउन विमानस्थलको सम्पूर्ण व्यवस्थापन गर्न निजी क्षेत्र तयार रहेको शाक्य बताउँछन्।
कोरोनाका कारण पर्यटन क्षेत्रमा कर्मचारीको तलब, ब्यांंकको ऋण र घर भाडा लगायतका खर्च कटौती गर्न व्यवसायी बाध्य भएको शाक्यले बताए। पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन खर्च कटौतीको विकल्प नभएको उनको भनाइ छ।
पर्यटन क्षेत्रको उत्थानका लागि बजेटमार्फत् ल्याएको प्याकेजलाई कार्यन्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए। त्यस्तो प्याकेज दिँदा पार्टीको झण्डा बोक्नेलाई प्राथमिकता दिने वातावरणको अन्त्य गर्नुपर्ने शाक्य बताउँछन्।