रातो मत्स्येन्द्रनाथ रथ यात्राको साइत जुर्यो
रातो मत्स्येन्द्रनाथको रथ यात्राको शुभसाइत २९ भदौका लागि जुरेको छ।
आज पाटन मंगलबाजरस्थित् सोह्रखुट्टे पाटीमा ज्योतिषीहरूबीच भएको छलफलपछि २९ भदौको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको हो।
ज्योतिषी कृति किरण जोशीले २९ भदौ बिहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मुर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताए।
यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मुर्तिलाई बुङमती पुर्याएको चारदिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको जोशीले बताए।
वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा यस वर्ष कोभिड–१९ महामारीका कारण रोकिएको थियो। लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरूले प्रशासनको अनुमतिबिना रथ तानेका थिए।
त्यसलगत्तै स्थानीय युवा र प्रहरीबिच झडप समेत भएको थियो। युवाहरूले रथ राखिएको ठाउँबाट तानेर केही पर पुर्याएका थिए। त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमा पूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटी सम्म पुर्याएका थिए।