रथ तान्दा पक्राउ परेकालाई रिहाईको मागसहित धर्ना बसेकालाई ललितपुर प्रहरीले पार्यो तितरबितर
ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरूलाई प्रहरीले तितरबितर पारेको छ। गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका युवाहरूलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरू प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन।
बिहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरू धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो। प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरू प्रहरी नभएको स्थानमा भेला भएका थिए।
अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ। गत बिहीबार स्थानीय केही युवाहरूले प्रशासनको अनुमति बिना जबरजस्ती मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुलचोकमा दिनभर विवाद उत्पन्न भएको थियो। युवाहरूले ट्राफिक प्रहरीलाई समेत कुटपिट गरेका थिए। कुटपिटमा उत्रिएका केही युवाहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ।