महामारीले प्रविधिमैत्री बनेको कांग्रेसलाई 'डिजिटाइज्ड' गर्दै लैजाने निर्णय
कोरोना महामारीपछि अत्यावश्यक जस्तो बन्दै गएको प्रविधिलाई बन्दाबन्दीको समयमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सबैभन्दा बढी प्रयोगमा ल्यायो। पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसका विभिन्न विभाग र कमिटीहरूले कार्यकर्तादेखि विज्ञसँग व्यापक छलफल र बहस गरे। महामारी रोकथामका लागि कहिले निषेधाज्ञा त कहिले बन्दाबन्दी लागू भएपछि कांग्रेसले प्रयोगमा ल्यायो- डिजिटल प्लेटफर्म 'फेसबुक लाइभ' र 'जुम'।
कांग्रेसको केन्द्रीय प्रचार विभागले दैनिक जसो कुनै न कुनै विषयमा नियमित फेसबुक लाइभ गरिरहेको छ। आन्तरिक छलफलहरूका लागि विभिन्न क्षेत्र, कमिटी र विभागका नेता कार्यकर्ताहरू जुममा जोडिएका हुन्छन्।
उसो त कांग्रेसको १३औं महाधिवेशनबाट शेरबहादुर देउवा निर्वाचित भएर आइसकेपछि सूचना, सञ्चार तथा प्रचार विभागलाई बलियो बनाउन धेरै प्रयासहरू भएका छन्। त्यसपछि पार्टीको वेबसाइट बनाएर कांग्रेसले त्यसैबाट आफ्ना सूचना र जानकारीहरूलाई नियमित अपडेट गर्ने गरेको छ, केही छुटे पनि।
कांग्रेसले आसन्न १४औं महाधिवेशन र कोरोना महामारीलाई मध्यनजर गर्दै यतिवेला पार्टीलाई सूचना, संचार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधि मैत्री (डिजिटाइज्ड) बनाउंदै अघि बढ्ने अभियान शुरूआत गर्ने भएको छ।
जुम प्रविधिमार्फत २० र २१ भदौमा बसेको नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागको प्रथम बैठकले उक्त ‘प्रविधि मैत्री अभियान’ को शुरूआतमा पार्टीको वेबसाइटलाई यथासिघ्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने भएको छ।
त्यसका लागि बैठकले विभिन्न उपसमिति गठन गरेको छ।
विभाग सार्वजनिक हुनु पूर्वदेखि आन्तरिक रूपमा कृयाशिल रहेको ‘कांग्रेस सूचना नेटवर्क’ मा बिषयगत योग्यताका व्यक्तिहरू थप समाविष्ट गर्दै विभागमा रहेकाहरूको प्रदेश स्तरीय एवं बिषयगत जिम्मेवारी ब्यवस्थापन गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ।
'बिषयगत अध्ययन र अवधारणा निर्माण उपसमिति एवं सामाजिक सञ्जाल केन्द्रित उपसमिति गठन गरेर सामाजिक सञ्जालमा अभिब्यक्त हुने भावना र विचार समेतलाई आत्मसात गर्दै विभागको सार्वजनिक प्रस्तुतिलाई सैद्धान्तिक र ब्यवहारिक दुबै कोणबाट सबल बनाउने निर्णय बैठकले गरेको' कांग्रेसले जनाएको छ।
त्यस्तै कोरोना संक्रमणको वृद्धिदर र मृत्युदर दुवै तिब्रतर ढंगले बढ्दै गएको स्थितिमा सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक प्रस्तुतिमा थप अध्ययन र विश्लेषणका लागि ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ। नेपाल मेडिकल एसोसिएसनका पूर्व राष्ट्रिय अध्यक्ष एवं विभागका सदस्य डा.अन्जनी झालाई उक्त उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ।
त्यसै गरी नेपाली कांग्रेसको केन्द्रीय मुखपत्र “नेपाल पुकार” प्रीन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ।