मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुट्ने केहीलाई कोरोना संक्रमण
ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा गत विहीबार ट्राफिक प्रहरीलाई कुट्नेमध्ये केहीलाई कोरोना संक्रमण देखिएको छ।
ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकामध्ये केहीलाई संक्रमण देखिएको हो। “पक्राउ परेकामध्ये केहीमा संक्रमण देखिएको भन्ने खबर आएको छ। रिपोर्ट आइपुगेको छैन”, महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले भने।
गत विहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच पुल्चोकमा झडप भएको थियो। स्थानीय केही युवाले ट्राफिक प्रहरी जवान घिमिरेलाई कुटपिट गरेका थिए।
कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो। डीएसपी तामाङले पक्राउ परेका सबैलाई स्वास्थ्य मापदण्ड अपनाएर राखिएको र सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरे पठाइएको बताए। त्यसमध्ये केही जनामा संक्रमण देखिएको हो।
“पक्राउ पर्ने सबैलाई शंकाष्पद नै मानेर राख्छौं, सबैको पीसीआर गर्छौं। अस्ति पक्राउ परेकालाई पनि स्वास्थ्य ‘प्रोटोकल’ पूरा गरेरै राखेर ‘स्वाब कलेक्सन’ गरेका थियौंं”, डीएसपी तामाङले भने।
विहीबार झडप नियन्त्रणका लागि खटिएका १८ प्रहरीलाई समेत यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ।