भारतमा पाँच महीनापछि आजदेखि दिल्लीसहितका शहरमा मेट्रो सञ्चालन हुँदै
भारतमा कोरोनाभाइरस संक्रमण महामारीपछि बन्द गरिएको मेट्रो सेवा आजबाट सञ्चालनमा ल्याइँदैछ। पाँच महीनापछि दिल्ली, चेन्नई, बेंगलुरु, कोच्चि, हैदराबाद, जयपुर, नोएडा, लखनउ र अहमदाबादबाट मेट्रो चलाउन लागिएको हो। कोलकातामा भने ८ सेप्टेम्बरबाट सञ्चालनमा ल्याउने तयारी छ।
कोरोनाका कारण २५ मार्चदेखि भारतभर ट्रेन सेवा बन्द गरिएको थियो।
दिल्लीमा १ सय ६९ दिनपछि मेट्रो सेवा शुरु हुँदैछ। स्वास्थ्य सुरक्षाका लागि विभिन्न मापदण्ड तोकिएको छ। जस अन्तर्गत मास्क नलगाई यात्रु प्रवेश गर्न नपाउने, प्रवेशद्वार र कोचमा व्यक्तिगत दूरी कायम गर्नुपर्ने, एउटा कोचमा ५० यात्रु मात्र बस्नुपर्ने, तत्कालका लागि नगद कारोबार नगरिने भएकाले स्मार्ट कार्डबाट भाडा भुक्तानी गर्नुपर्ने लगायत नियम बनाइएको छ।
यस्तै, बिरामी वा संक्रमणका हल्का लक्षण देखिएका व्यक्तिलाई मेट्रोमा प्रवेश नदिने व्यवस्था गरिएको छ।
चौथो चरणको 'अनलक' मा भारतको केन्द्र सरकारले ७ सेप्टेम्बरबाट विभिन्न चरणमा मेट्रो सञ्चालन शुरु गर्ने घोषणा गरेको थियो। जसका लागि गत २ सेप्टेम्बरमा निर्देशिका जारी गरिएको थियो। मेट्रो सञ्चालनका लागि हिजो कोचहरुको सरसफाइ गरी निस्संक्रमित पनि गरिएको थियो।