काठमाडौं उपत्यकाका सिडिओहरुको प्रस्ताव– ‘दशैंसम्म निषेधाज्ञा गरौं, नाकामा सेना खटाऔं’
काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले निषेधाज्ञा लम्ब्याएर दशैंसम्म पुर्याउन र उपत्यका प्रवेश नाकामा सेना परिचालन गर्न प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थित तीन जिल्लाकै सिडिओहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने क्रम रोक्न थप कडाइ गर्नुपर्ने बताएका हुन्।
काठमाडौं उपत्यकामा ३ भदौ मध्यरातदेखि निषेधाज्ञा छ। तेस्रो पटक थप गरिएको निषेधाज्ञा २४ भदौमा सकिंदैछ।
उपसमितिको छलफलमा बोल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने प्रस्ताव गरे। उनले नचाहँदा नचाहँदै पनि दैनिक दुई हजारभन्दा धेरैलाई उपत्यकामा भित्र्याउनु परेको उल्लेख गर्दै नाका ठप्प पार्न नसकिएको बताए। अहिले पनि विभिन्न ढुवानीका साधन मार्फत मानिसहरु आवतजावत गरिरहेकाले त्यसमा कडाइ गर्न सेना परिचालन गर्न आवश्यक देखिएको उनको भनाइ थियो।
दाहालले भने, ‘‘काठमाडौंमा ग्याँस बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ, यहाँको जीवन आयातीत वस्तुमै चलेकाले ठप्प पार्न अलि गाह्रो हुँदो रहेछ । अनावश्यक मान्छे हिंडडुल गर्ने कुरा रोक्न सीमामा कडाइ गर्नुपर्ने हुन्छ । त्यसका लागि सेनालाई नै खटाउनुपर्छ।’’ उनले डीसीएमसीबाट निर्णय गरेर त्यो प्रस्ताव माथि पठाइएको भए पनि सीसीएमसीबाट त्यसको सुनुवाइ नभएको बताए।
प्रहरीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा त्यसमा भ्याईनभ्याई भएको र त्यहीकारण सीमा नाकाको निगरानी कमजोर भएको उनको भनाइ थियो।
छलफलमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दवाव आउने गरेको गुनासो गरिन्। प्रवेश रोक्न नसकिने भएकाले त्यसलाई योजनावद्ध र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए। चाडपर्वको समयमा आवागमन झन् बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिएर जनजीवन सहज बनाउने, तर निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘‘जात्रा, संस्कृति र पर्व भनेपछि मानिसहरु ज्यान फाल्न पनि तयार हुँदारहेछन्। त्यसकारण केही खुकुलो बनाए पनि हामीले दशैंसम्म निषेधाज्ञा कायमै राख्नुपर्छ। नभए स्थिति झन् भयावह हुनसक्छ।’