कोरोना अपडेट: आईसीयूमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या बढ्दै
मुलुकमा आईसीयूमा उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या बढिरहेको देखिएको छ। स्वास्थ्य मन्त्रालयले २१ भदौमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकभरका अस्पतालका आईसीयूमा उपचार भइरहेका कोरोना संक्रमितको संख्या १७४ जना छ।
यीमध्ये आइतबारसम्म आईसीयूमा राखेर उपचार गरिने संक्रमितको संख्या सात प्रदेशमध्ये बागमति प्रदेशमा सबैभन्दा धेरै १०९ जना छ। यसबाहेक प्रदेश–१ मा ९ जना, प्रदेश–२ मा २८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश–५ मा २० जना र कर्णाली प्रदेशमा ३ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा एक जना पनि कोरोना संक्रमितलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको छैन।
कोरोनाका सिकिस्त र अक्सिजनको सहायत चाहिने व्यक्तिलाई आईसीयूमा राखेर उपचार गर्ने गरिएको छ। २१ भदौसम्म मुलुकभर कोरोना संक्रमित हुने ४६२५७ जनामध्ये १७०२७ जना सक्रिय संक्रमित छन्।
१५ भदौसम्म आईसीयूमा उपचार गरिने कोरोना संक्रमितको संख्या १३२ थियो। यीमध्ये सबैभन्दा धेरै बागमति प्रदेशमा ७० जना, प्रदेश–५ मा १७ जना, प्रदेश–२ मा ३८ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश–१ मा ४ जना कोरोना संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको थियो।
४ भदौसम्म मुलुकभर कोरोनाका १२९ जना संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको थियो भने ३० साउनसम्ममा उक्त संख्या ९८ जना मात्रै थियो।
यसरी झण्डै २१ दिनको अन्तरमा मुलुकमा आईसीयूमा उपचार गरिने कोरोना संक्रमितको संख्या ७६ जनाले बढेको छ।