बजारमा प्रयोग भइरहेका ४५ प्रतिशत स्यानिटाइजर प्रभावहीन, जीवाणु मार्ने क्षमता कमजोर
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको एक अनुसन्धानले बजारमा प्रयोग भइरहेका २२ वटा ब्रान्डका स्यानिटाइजरमध्ये ४५ प्रतिशत प्रभावकारी नभएको देखाएको छ।
नाष्टका दुई जना माइक्रोबायोलोजिष्टद्वय डा. टिष्टा प्रसाईं र समीक्षा कँडेलको टोलीले एक महीना लगाएर गरेको अनुसन्धानले नमूना लिएका ४५ प्रतिशत स्यानिटाइजरमा दुई वटा जीवाणु मार्न सक्ने क्षमता नभएको देखिएको हो।
अनुसन्धानकर्ताहरूले गएको असार महीनामा बजारबाट नेपाली र विदेशी गरी कुल २२ ब्रान्डका ह्यान्ड स्यानिटाइजरमाथि अनुसन्धान थालेका थिए। उक्त अनुसन्धानबाट उनीहरुले २२ वटा ब्रान्डका स्यानिटाइजरमध्ये ४५ प्रतिशतमा दुई हानिकारक जीवाणु (ब्याक्टेरिया) लाई असर गर्ने क्षमता नभएको पत्ता लगाएका हुन्।
नाष्टको अनुसन्धानले प्रभावकारी नदेखिएका विदेशबाट आयातित स्यानिटाइजरमा चीन र भारतका उत्पादनहरू धेरै भएको देखाएको छ। यस्तै, स्वदेशी ब्रान्डका केही स्यानिटाइजरको प्रभावकारिता पनि नभएको अनुसन्धानकर्ताले बताए।
अनुसन्धानमा सहभागी माइक्रोबायोलोजिष्ट डा. टिष्टा प्रसाईंले हिमालखबरसँग कुरा गर्दै नमूना लिइएकामध्ये ४५ प्रतिशत स्यानिटाइजरको प्रभाव नदेखिएको र प्रभावकारी नदेखिनुको कारण 'इथानल' नामक रसायनको मात्रा कम भएको हुनसक्ने अनुमान रहेको बताइन्। तर, अध्ययनमार्फत के कारणले स्यानिटाइजरको जीवाणु मार्ने क्षमता कमजोर देखिएको भन्ने यथार्थ पत्ता लागेको छैन।
जीवाणु मार्नका लागि जति धेरै इथानलको मात्रा (कन्सन्ट्रेसन) हुन्छ, उति राम्रो हुने डा. प्रसाईं बताउँछिन्। उनका अनुसार स्यानिटाइजर बनाउँदा विश्व स्वास्थ्य संघठनले सिफारिश गरे अनुसार रसायनको परिमाण मिलाएर राख्नुपर्छ।
“तर जीवाणुको प्रकार अनुसार कति परिमाणमा राखिने, कुन रसायनले काम गर्छ भन्ने निर्धारण हुन्छ”, डा. प्रसाईं भन्छिन्।
यो अनुसन्धानका क्रममा कोरोनाभाइरसबाट बच्नका लागि बजारमा प्रयोग हुँदै आएका स्यानिटाइजरको जीवाणुलाई पारेको प्रभाव हेरिएको थियो।
यस कारण गरियो परीक्षण
“जीवाणुलाई मार्न सक्ने रसायनले विषाणु (भाइरस) लाई पनि मार्छ। कोरोनाभाइरसको प्रकृति आरएनए भएकाले स्यानिटाइजरमा हुने क्लोरिन र इथानोलले यसलाई नष्ट गर्छ” प्रसाईं भन्छिन्, “त्यसैले हातमा टाँसिएको भाइरसलाई गुणस्तरीय स्यानिटाइजरमा प्रयोग भएको रसायनले मात्र मार्न सक्छ।”
नाष्टका अनुसन्धानकर्ताहरूको टोलीले बजारबाट किनेर ल्याएका २२ थरी ब्रान्डका स्यानिटाइजरको माइक्रोबायोलोजिकल (सूक्ष्म जीववैज्ञानिक) विधिबाट परीक्षण गरेको थियो। ४८ घण्टाको समय लगाएर नाष्टको वातावरण अनुसन्धान प्रयोगशालाबाट स्यानिटाइजरले जीवाणुमा पार्ने प्रभाव हेरिएको थियो।
उक्त अनुसन्धान अहिलेसम्म प्रकाशित भएको छैन। अनुसन्धानकर्ता डा. प्रसाईंले थप नमूनाहरूमाथि पनि अनुसन्धान भइरहेको र आएका नतिजाहरूको तथ्यांक विश्लेषणको काम भइरहेकाले उक्त काम सकिएपछि प्रकाशन गरिने बताइन्।
अझै यकिन भइसकेको छैन नतिजा
उनले कुन ब्रान्डका स्यानिटाइजरमा जीवाणु मार्न सक्ने क्षमता कम भएको भनेर खुलाउन चाहिनन्। “नैतिक रुपमा हामीले अनुसन्धानका लागि संकलन गरिएको ब्रान्डको नाम सार्वजनिक गर्न मिल्दैन” उनी भन्छिन्, “यसबारे औषधि व्यवस्था विभाग जस्ता नियामक निकायले नाष्टको सहयोग लिएर बजार अनुमगन गरेर कुन स्यानिटाइजर गुणस्तरहीन छ भनेर सार्वजनिक सूचना निकाल्न सक्छन्।”
यस्तै उनले स्यानिटाइजरको एउटा मात्रा, प्यारामिटर हरेर अनुसन्धान गरिएकाले सबै प्यारामिटर हेरेपछि मात्र गुणस्तरहीन भए वा नभएको यकिन गरेर सेफ्टी अलर्टसहित ब्रान्डको नाम सार्वजनिक गर्न सकिने बताइन्।
नियामक निकायले नाष्टका वैज्ञानिकहरूलाई उपयोग गरेर बजारमा बिक्री भइरहेका सामग्रीको गुणस्तरबारे प्रयोगशाला जाँच गरेर अनुगमन गर्न सक्ने उनको भनाइ छ।
अनुसन्धानकर्ताहरूले स्यानिटाइजरको जथाभावी प्रयोग उचित नभएकाले सकेसम्म हात धुने बानी बसाल्नुपर्ने बताएका छन्। हात धुनसक्ने सम्भावना नभएको अवस्थामा मात्र स्यानिटाइजर प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ।
कुन ब्राण्डमा छैन प्रभावकारी क्षमता?
यसअघि औषधि व्यवस्था विभागले गरेको बजार अनुगमनका क्रममा भक्तपुरको नेपाल कायाकल्प उद्योगले विषाक्त रसायन मेथानल मिसाइएका ह्यान्ड स्यानिटाइजर उत्पादन र बिक्री वितरण गरेको भेट्टाएको थियो।
अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले उपभोक्तालाई मेथानल मिश्रित स्यानिटाइजर बजारमा आएकोले त्यस्ता उत्पादन प्रयोग नगर्न भन्दै आइरहेको छ।
विभागले २५ चैत २०७६ मा गरेको बजार अनुगमनका क्रममा बजारमा बिक्री वितरण भइरहेका कतिपय ह्यान्ड स्यानिटाइजर तोकिएको मापदण्ड अनुसारको नभएको भन्दै ध्यानाकर्षण भएको बताएको थियो। स्यानिटाइजर निश्चित मापदण्ड अनुसारको छ कि छैन भन्ने विवरण हेरेर मात्र खरीद र प्रयोग गर्न सर्वसाधारणलाई विभागले सचेत गराएको थियो।
विभागले तोकिएको मापदण्ड पूरा नगरेका न्यून गुणस्तरका ह्यान्ड स्यानिटाइजर बिक्री वितरण भइरहेको भन्दै त्यस्तो काम नगर्न निर्देशन दिएको थियो।
स्यानिटाइजरले निम्त्याउन सक्छ जोखिम
नाष्टका वैज्ञानिक तथा माइक्रोबायोलोजिष्ट डा. प्रसाईंका अनुसार स्यानिटाइजरमा इथानल रसायन हुने भएकोले उच्च तापक्रम र बालबालिकाको नजिक राख्न हुँदैन।
“अहिले सबैले यात्रा गर्ने क्रममा पनि स्यानिटाइजर बोक्ने गरेको पाइएको छ” उनले भनिन्, “आफ्नो कारमा स्यानिटाइजर बोकेर हिंड्दा त्यतिबेला गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म पुग्छ। स्यानिटाइजरमा भएको रसायनका कारण आगलागीको जोखिम पनि हुन्छ। त्यसैले स्यानिटाइजरलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्छ।"