पैसाका लागि बहिनीको अपहरण, प्रयोग गरिएको एम्बुलेन्सका चालकसहित पक्राउ
मोरङ पथरीशनिश्चरे ८ का २१ वर्षीय युवकले पैसाको लोभमा १४ वर्षीया बहिनीको अपहरण गरेका छन्। बहिनीसंग दुई लाख रुपैयां भएकाले दाजु सुजन रणपहेलीले पथरीबाट अपहरण गरेर काभ्रे पुर्याएपछि प्रहरीले पक्राउ गरेको छ।
सुजनले काकाकी छोरीलाई अपहरण गर्दा तीन वटा एम्बुलेन्स प्रयोग गरेको पाइएको छ। दुई वटा एम्बुलेन्स चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय पथरीका नायव उपरिक्षक दिलीप गिरिका अनुसार, १६ भदौ बिहान बालिका बेपत्ता भएपछि उनको परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएको थियो। प्रहरीले बालिकाको हुलिया सार्वजनिक गरेपछि १७ भदौमा काठमाडौ जांदै गरेको एम्बुलेन्स काभ्रेको सांगा भन्ज्याङमा प्रहरीले राकेको थियो।
“जाहेरी गरेको बालिकाको हुलिया मिलेपछि शंका लागेर प्रहरीले रोकेको थियो। हाम्रो प्रहरी यहांबाट गएर पथरी ल्याएको छ”, डिएसपी गिरिले भने।
बालिकाकी आमाले छोरीलाई १५ भदौमा रु दुई लाख घरमा राख्न दिएको ठूलाबुबाका छोरा सुजनले थाहा पाएका थिए। त्यसपछि सुजनले धम्की दिएर एम्बुलेन्समा चढाई बालिकालाई रकमसहित बिहान उज्यालो नहुंदै इटहरी पुर्याएका थिए।
त्यहांबाट अर्को एम्बुलेन्समा चढाई काठमाडौ तर्फ लगिएको थियो। बनेपामा पुगेर अर्को एम्बुलेन्सको पनि प्रयोग भएको गिरिले बताए।
को २ च २८८२ नम्बरका एम्बुलेन्स चालक रोमन आचार्य र को २ च ३१२१ नम्बरको एम्बुलेन्स चालक पूर्ण तामाङलाई पनि प्रहरीलय पक्राउ गरेको छ।
बालिकासंगै भएको २ लाखमध्ये ४८ हजार एम्बुलेन्स भाडा र खानामा खर्च भएकाले सुजनको साथमा प्रहरीले रु १ लाख ५२ हजार मात्रै बरामद गरेको छ।
“सुजन बलियो भएका कारण चालकलाई पनि हप्काएको बालिकाले सुनेकी थिइन्” गिरिले भने, “सुजनले 'अर्को केटीपनि लिएर आउंछु कोठा तयार गर्नु' भनेर फोनमा कुरा गरेको सुनेकी बालिका डरले होहल्ला गर्न नसकेको देखिन्छ।” बालिका अपहरणमा एम्बुलेन्स चालकको भनें प्रत्यक्ष संलग्नता नदेखिएको उनले बताए।