पर्यटन खुलाउन फेरि जुटे व्यवसायी, ३२ पर्यटकीय संस्थाले अगाडि सारे १७ बुँदे सुझाव
कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र खुलाउन ३२ वटा पर्यटनका व्यवसायीक संस्थाले १७ बुँदे माग अगाडि सारेका छन्। ‘नेपालको पर्यटन क्षेत्रमा कोरोनाभाइरसको प्रभाव र पुनरुत्थानका लागि अबका दिनहरूमा अपनाउनुपर्ने रणनीति’ सहितको सुझाव अगाडि सारेको पर्यटन व्यवसायीले बताएका छन्।
पर्यटन क्षेत्र लामो समयदेखि ठप्प राख्दा ऋणात्मक अवस्थामा पुगेकोले यो क्षेत्रबाट स्थापित व्यवसायी पनि विस्थापित हुन सक्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन्। उनले भने "पर्यटन क्षेत्र खुला गरेर आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोगी हुने भएकोले पनि व्यवसायीले पटक पटक सरकारसँग आग्रह गरेका हुन।"
सुवेदीले सबै पर्यटन क्षेत्रका व्यवसायिक संस्थाले फेरि पर्यटन मन्त्रीसमक्ष समस्या समाधान गर्न र सुधार गर्नुपर्ने विषयलाई नै प्रष्ट्याएर बुँदागत रुपमा माग पेश गरेको जानाकरी दिए।
व्यवसायीले पर्यटन पुनः खुला, आन्तरिक र बाह्यको नियमित उडान खुला, मौद्रिक नीतिले गरेको व्यवस्था कार्यान्वयन, व्यवसायिक कम्पनी नवीकरण, महामारीको समयमा घरभाडा र बिजुलीमा सहुलियतको माग अगाडि सारेका छन्।
यस्तै हिमाल सफाई अभियान तथा पूर्वाधार विकास, पर्यटन मजदुरलाई आर्थिक राहत, आरोहण नभएका हिमाल, पर्यटन सवारी, पर्यटक बस टर्मिनल, पर्यटन बोर्डका सदस्यमा संस्थागत प्रतिनिधित्व, हरेक आर्थिक वर्षमा पर्यटन रोयल्टीबाट कल्याणकारी कोष स्थापना, रेस्टुरेन्ट एण्ड बार आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्ने सहितका विषयलाई अगाडि सारेका छन्।
यस अघि पनि पर्यटन व्यवसायीले १ भदौदेखि नै पर्यटन क्षेत्र खुला नगरे आन्दोलन गर्ने चेतावनी दिएका थिए। तर, कोभिड संक्रमण बढेका कारण सरकारले नै निर्णय गर्दै पछाडि थकेल्दै अहिले भदौ मसान्तसम्म पुर्याएको छ।
नेपाल पर्यटन बोर्डका पूर्व सीईओ तथा पर्यटन विज्ञ दीपकाराज जोशी आन्तरिक उडान छिमेकी मुलुक भारतसहित विश्वका अधिकांश देशमा खुला भएकोले ‘सरकारले अनुगमन गर्ने गरी आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर खुला गर्नुपर्ने' बताउँछन्। जोशी भन्छन्, "लामो समय ठप्प रहेको पर्यटन क्षेत्र खुला गर्ने र पर्यटकीय गतिविधिसँगै अर्थतन्त्रलाइ पनि चलायमान बनाउनुपर्छ।"
पर्यटनको निर्णय गर्नमा सरकारको नेतृत्व तहमा हुनेको बुझाइ कम भएको र सरकारी निकायले पनि समन्वय गर्न नसकेकोले पनि पर्यटन क्षेत्र प्राथमिकता बाहिर पर्न गएको उनको आरोप छ।
अर्थविद शान्तराज सुवेदी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटनको योगदान २.५ प्रतिशत मात्रै भएकोले अर्थतन्त्र चलायमान नै बनाउने भन्दापनि सहयोग गर्ने एउटा पाटो मात्रै भएको बताउँछन। सुवेदी भन्छन्, "पर्यटन क्षेत्र खुला गर्दैमा अर्थतन्त्रका अवयव सबै चलायमान हुने त होइन्, तर पनि यसबाट गर्दा सार्वजनिक यातायात, निजी क्षेत्र, पर्यटनसँग जोडिएर आउने अन्य क्षेत्र चलायनमा हुन सहयोग चाहिँ गर्छ।"
लामो समय ठप्प बनाउन यो क्षेत्रका व्यवसायी र मजदुर विस्थापित हुने समस्या हुन सक्ने भएकोले आवश्यक मापदण्ड पालना गरेर खुला गर्दै भने जानुपर्ने तर्क सुवेदीको छ। सरकारले भदौ मसान्तसम्मलाई बन्द गरेको क्षेत्र असोजपछि भने कोभिड संक्रमणको अवस्था हेरेर आवश्यक सुरक्षा मापदण्ड बनाएर खुला गराउन सम्बन्धित निकायसगँको छलफल भने अगाडि बढाइरहेकोले यसलाई सकारात्मक नै मान्नुपने सुवेदी बताउँछन्।