रातो मत्स्येन्द्रनाथको रथ संक्षिप्त विधिबाट तानियो, २५ भदौमा मत्स्येन्द्रनाथलाई बुङमती लगिने
कोरोनाभाइरस महामारीले परम्परागत जात्रा, पर्व समेत प्रभावित बन्दै आएका बेला रातो मत्स्येन्द्रनाथको रथयात्रामा पनि त्यसको असर परेको छ। महामारीकै कारण आइतबार संक्षिप्त विधिअनुसार रथ तानेर रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न गरिएको छ।
परम्परागत रूपमा पुलचोक-गाः बहाल-सुनधारा-लगनखेल-इती टोल-जावलाखेल रूटमा तानिने रथलाई आज भने पुल्चोकस्थित सोह्रखुट्टे पाटीसम्म मात्र तानिएको हो।
कोभिड-१९ महामारीका कारण रथलाई पुरानै रूटमा तान्न जोखिम हुने कारणले संक्षिप्त विधिबाट प्रक्रिया पूरा गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए।
आइतबारको संक्षिप्त रथयात्रा निकाल्दा काठमाडौं उपत्यकामा निषेधाज्ञा थियो। स्थानीय प्रशासनले ललितपुर महानगरका विभिन्न क्षेत्रमा ५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाउँदै रथ रहेको आसपासको क्षेत्र सिल गरेको थियो।
ललितपुर महानगरपालिका प्रमुख महर्जनले २६ भदौमा उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुङ्मती लगिने कार्यक्रम तय भएको बताए। उनका अनुसार त्यसको तीन दिनपछि २९ भदौमा विशेष पूजाआजा गरी जात्रा समाप्त गरिनेछ।
यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन । आइतबार रथ तान्नका लागि ४३४ जना सहभागी थिए।
प्रहरीले कार्यक्रम स्थललाई चारै तर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो । गत बिहीबार निषेधाज्ञाका बीच स्थानीय युवाले रथ तान्न थालेपछि विवाद भएको थियो। शुक्रबार क्षमा पूजा गरेर आइतबार सांकेतिक रूपमा रथ यात्रा सम्पन्न गरिएको हो।