देउवालाई महेश आचार्यको पत्र: कृपया रोक्नुहोस् विधान विपरीतका निर्णयहरु
आदरणीय सभापतिजी,
तपाईंबाट गरिएका विभाग गठन लगायतका पार्टीको समायोजन, क्रियाशील सदस्यता सम्बन्धी पछिल्ला केही निर्णयहरु पार्टी विधान विपरीत र गम्भीर विवाद सिर्जना गर्ने ढंगका देखिए। यिनलाई सच्याएर सम्पूर्ण पार्टीपंक्तिलाई एकताबध्द गराएर महाधिवेशनतर्फ लैजाने दायित्व निर्वाह गर्न हार्दिक अनुरोध गर्दछु।
१. हाम्रो विधानको दफा ६० ले ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति र विभिन्न निकायहरु महाधिवेशन सम्पन्न भएको ६ महीनाभित्र गठन गरिसक्नुपर्नेछ’ भन्ने समयको बाध्यकारी व्यवस्था गरेको छ। आफ्नो चार वर्षको कार्यकालमा गठन नगरिएको विभाग विशेष परिस्थिति देखाइ महाधिवेशन सम्पन्न गर्न थपिएको एक वर्षको पनि आधा अवधि गुजारेर महाधिवेशनको मुखमा गठन गर्नु विधानको भावना र मर्मको गम्भीर उल्लंघन हो।
२. विधानको दफा ३७ (१) ञ ले ‘विभागले प्रत्येक ६ महीनामा कार्यसम्पादन प्रगति प्रतिवेदन केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्नेछ’ भनेको छ। ६ महीनाको कार्यकाल पनि बाँकी नहुने अहिले गठन गरिएका विभागले महाधिवेशनको तीब्र चटारोमा कहिले आफ्ना कार्ययोजना बनाउलान्, कहिले देशको समसामयिक मुद्दामा छलफल गर्लान्, कहिले आफ्ना सुझाव र प्रगति प्रतिवेदन केन्द्रीय समितिलाई देलान् अनि म्याद गुज्रिएको केन्द्रीय समितिले कहिले सुझाव कार्यान्वयन गर्ला ? यो कुराको हेक्का नराखी गठन हुने विभागले संगठन बलियो हैन, पार्टीभित्र विवाद र गुटबन्दीलाई उत्कर्षमा पुर्याउँछ। हाम्रो पार्टीका हज्जारौं साथीलाई र तिनकाे प्रतिभालाई गुटबन्दीको स्वार्थ र दलदलमा नचाहँदा नचाहँदै फसाउनेछ।
३. विधानको दफा २४ (३) ले विभागको कामको समीक्षा गर्ने अधिकार केन्द्रीय कार्य सम्पादन समितिलाइ दिएको छ। तर दुर्भाग्यवश सभापतिजीले कार्य सम्पादन समिति समेत बनाउन सक्नुभएको छैन।विभाग गठन हुने तर विभागको कामको समीक्षा गर्ने अधिकार पाएको समिति नहुने अवस्थामा के संगठन बलियो बनाउने संकल्प मान्न सकिन्छ र ?
४. विधानको दफा ४ (१०) ञ ले महाधिवेशनको ६ महीनाअघि क्रियाशील सदस्यता पाएको र नवीकरण गरेको सदस्यले मात्र महाधिवेशनमा मतदान र उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ। विधानको दफा ५० (६) मा पनि महाधिवेशन भन्दा ६ महीना अघि नै क्रियाशील सदस्यता र नवीकरण गरेकाले मात्र उम्मेदवार हुन पाउने कुरासँगै महाधिवेशनको ६ महीना अघि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम बन्द गर्ने व्यवस्था गरेको छ। यी दुवै व्यवस्थाद्वारा विधानले पार्टी पदाधिकारीलाइ महाधिवेशनको मुखमा आफूखुशी सदस्यता वितरण र नवीकरण गरी महाधिवेशनलाई प्रभावित पार्न सक्ने संभावनाबाट रोकेको छ। विधानमा यो व्यवस्था त्यसै आएको होइन पुराना अनुभवका कारणबाट आएको हो। यसरी विधानले महाधिवेशनको मुखमा क्रियाशील वितरण र नवीकरण जस्ता संगठनका आधारभूत कार्यलाई समेत रोकेर महाधिवेशनको निष्पक्षता प्रत्याभूत गर्न चाहेको मर्म विपरीत तोकिएको काम गर्ने समय र संभावना नै नभएको अवस्थामा हज्जाराैंको संख्यामा साथीहरुलाई विभाग र समितिमा गरिएको नियुक्तिको वैधता र ओैचित्य कसरी पुष्टि हुन सक्छ र ?
आदरणीय सभापतिजी, यस वाहेक जुन महाधिवेशनले तपाईंलाई सभापतिमा निर्वाचित गर्यो त्यही महाधिवेशनले निर्वाचित गरेको महामन्त्री, कोषाध्यक्ष र ठूलो संख्यामा केन्द्रीय सदस्य असहमत हुँदाहुँदै गरिएको निर्णयको सांगठनिक महत्व र प्रभावकारिता कति होला र ?
५. हाम्रो विधानको दफा ५१ (१) ले महाधिवेशनमा निर्वाचित सभापतिले ४० जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था छ। तर विचारणीय कुरा के छ भने यही दफाले यस्ता प्रतिनिधिको कार्यकाल नयाँ महाधिवेशनको प्रक्रिया प्रारम्भ भएपछि स्वतः समाप्त हुने व्यवस्था गरेको छ। यो प्रावधानको आशय पनि सभापतिद्वारा मनोनीत प्रतिनिधिबाट निर्वाचन प्रभावित नहोस् भन्ने नै हो।
६. पार्टी विधानको दफा ५० (८) का अनुसार पार्टीको कुनै पनि तहको सभापतिको मृत्यु भई वा राजीनामाका कारण पद रिक्त भएमा कार्यवाहक सभापति बनाउने र ६ महीना भित्र अधिवेशनद्वारा सभापति चयन गर्ने विधि छ। तर महाधिवेशनको प्रक्रिया प्रारम्भ भएको अवस्थामा भने सभापतिको चुनाव समेत गर्नुपर्दैन, गर्न मिल्दैन र नयाँ महाधिवेशनले नै सभापति चुन्छ।
आदरणीय सभापतिजी, महाधिवेशनको प्रक्रिया शुरु भएपछि माथि उल्लिखित विधानले गर्न रोकेका काम, विभिन्न निकायको कार्यकाल सम्बन्धी व्यवस्था र निष्पक्ष निर्वाचनका मान्यताहरुको पालना हामीले आफ्नै पार्टीभित्र गर्न सकेनाैं भने हामीले वर्तमान कम्युनिष्ट सरकारको स्वेच्छाचारिताका विरुध्द जनता परिचालन गर्ने नैतिक बल गुमाउनेछाैं। महाधिवेशनमा दिशाहीनता, चरम गुटबन्दी र अनुशासनहीनताले प्रश्रय पायो भने संघर्ष, समर्पण र शहादतबाट बनेको हाम्रो पार्टी र साथीहरुको विशाल पंक्तिका सामु हामी अपराधी प्रमाणित हुनेछाैं। सभापतिजी मैले भरसक आफूलाई र आफ्नो विवेकलाई कहिल्यै गुटको बन्दी बनाइनँ, अपमान र उपेक्षा मंजुर गरें तर सधैं पार्टीहित र एकताको पक्षमा काम गरें।
यही नैतिक बलमा उभिएर सार्वजनिक रुपमा तपाईंलाई सम्बोधन गर्दै यो पत्र लेख्दैछु। यो पत्र लेख्न बस्दा तपाईंप्रति मेरो कुनै दुर्भावना छैन केवल हाम्रो पार्टीको भविष्य, भूमिका र एकताप्रतिको मेरो चिन्ता अभिव्यक्त छ जुन पार्टी बनाउन तपाईं स्वयंको जीवन र जवानी समर्पित रह्यो।
जय नेपाल !
महेश आचार्य
केन्द्रीय सदस्य/नेपाली कांग्रेस
२१ भाद्र २०७७