आईपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल लगत्तै सन्दीप लामिछाने आवद्ध दिल्ली खेल्ने
इण्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक गरिएको छ। १९ सेटेम्बरबाट हुने आईपीएलको खेल तालिका आज सार्वजनिक गरिएको हो।
१३औं संस्करणको उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन्स मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्गस्बीच हुनेछ। कोरोना महामारीका कारण रोकिएको खेल आईपीएल यसपटक युएईमा हुँदैछ। दुबई, आवुधाबी र सर्जाहमा हुने आईपीएलको खेल तालिका आज बीसीसीआईले सार्वजनिक गरेको हो।
उद्घाटन खेल आबुधाबीमा हुनेछ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टीम दिल्ली क्यापिटल र किङ्गस् इलेभेन पञ्चाजबीच दोस्रो खेल हुनेछ भने सनराइज हैदराबाद र रोयल च्यालेन्जर्स बेंग्लोरबीच तेस्रो खेल हुनेछ।
५३ खेलका लागि सार्वजनिक तालिकाअनुसार, २४ खेल दुबईमा, २० खेल आबुधाबी र १२ खेल सर्जाहमा हुनेछ। प्लेअफ र फाइनल खेलका लागि भने स्थान निर्धारित गरिसकिएको छैन।
गएको मार्चमै हुनुपर्ने आईपीएल कोरोना महामारीका कारण स्थगित हुँदै आएको थियो।