मुगु सदरमुकाम पाँच दिनदेखि विद्युतविहीन
गमगाड साना जलविद्युत आयोजनाको विद्युत गृहमा रहेको मोटरमा समस्या आएपछि मुगु सदरमुकाम पाँच दिनदेखि विद्युतविहीन भएको छ। सदरमुकाम आसपासका बस्ती पनि विद्युतविहीन भएका छन्।
बुधबार राति ११ बजेदेखि विद्युत पावरहाउसमा रहेको मोटरमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको हो। विद्युत सेवा अवरुद्ध हुँदा छायाँनाथ रारा नगरपालिकाका १४ वडामध्ये विद्युत सेवा पुगेका ११ वडाका दुई हजार ४०८ ग्राहक अध्याँरोमा बस्नु परेको छ।
विद्युत नहुँदा सरकारी, गैह्रसरकारी तथा वित्तीय संस्थाहरूको दैनिक कामकाजमा समेत प्रभाव परेको छ। जिल्लाका करीब दश हजार घरधुरीलाई लक्षित गरि निर्माण गरिएको जलविद्युत आयोजना पटक–पटक बिग्रिँदा स्थानीयवासिन्दाले सास्ती खेप्दै आएका छन्।
कुल ४०० किलोवाट विद्युत आयोजना जडित मोटरमा यसअघि पनि ५/६ पटक समस्या आइसकेको छ।
नियमित सञ्चालन रहेका बेला मासिक करीब ३९ हजार ६०७ युनिट खपत भइ रू. ३ लाख ५० हजार आम्दानी हुने गरेको गमगाड साना जलविद्युत आयोजानाले जनाएको छ।
पुरानो प्रविधिको विद्युत उत्पादन प्रणालीलाई विस्थापित गरेर आधुनिक पद्धतिको उपकरण जडान गरी उत्पादन गर्नुपर्ने समय आएको गमगाड साना जलविद्युत आयोजना मुगुका निमित्त कार्यालय प्रमुख रामबहादुर महतले बताए।
उनका अनुसार बिग्रिएका मोटर मर्मतका लागि नेपालपञ्ज पठाएइको र नेपालगञ्जमा नबनेपछि काठमाडौं पठाइनेछ। विद्युत गृहमा हरेकचोटी सानो समस्या आएपनि चीनबाटै सामान ल्याउनुपर्ने अवस्थाले झनै समस्या थपेको गमगाड वितरण केन्द्रले बताएको छ।
स्वास्थ्य सेवा समेत प्रभावित
विद्युतकै कारण अस्पतालमा हुने एक्सरे, भिडिओ एक्सरे, फिजियोथेरापी र सुत्केरी सेवा लगायतका सेवा प्रभावित भएका छन्।
अस्पतालमा उपचार गराउन आउने सबैखाले बिरामीलाई सेवा दिन समस्या भएको जिल्ला अस्पताल मुगुका प्रमुख, डा. निर्मल नगरकोटीले बताए।
रातिको समयमा आउने आकस्मिक बिरामी विशेष गरेर सुत्केरी हुन आउनेलाई उपचारमा थप समस्या भएको उनले बताए। विद्युत नहुँदा अस्पतालको प्रयोगशाला सञ्चालनमा समेत समस्या भएको डा. नगरकोटी बताउँछन्।